दैनिक खानामा प्रयोग गरिने गहुंको पिठो (आंटा)मा चालु आब देखि मूल्य अभिबृद्दी कर लगाइएको छ।
यो करबाट अरबौंको लगानी रहेका लगभग ३८ वटा स्वदेशी मैदा उद्योगहरु जोखिममा पर्ने मैदा उद्योगीहरुको गुनासो छ।भारतबाट बैध वा अबैध तवरबाट आउने मैदा,आंटासँग अब प्रतिस्पर्धा गर्न नसकिने मैदा उद्योगीहरुले बताएका छन्।
स्वदेशमै आत्मनिर्भर भईसकेको आंटा जस्तो खाद्य बस्तुमा यसरी करको भार थपिँदा बैध वा अबैध आयातले प्रोत्साहन पाउने उद्योगीहरुकोे ठहर छ।
मैदा उद्योगीहरुले देश खाद्यान्नमा आत्मनिर्भर हुने सरकारको घोषणा ब्यवहारमा नदेखिएको आरोप लगाउँदै स्वदेशी उद्योगले अब थप चुनौतिको सामना गर्नु पर्नेमा आफूहरु निरुत्साहित भएको बताए।
सरकारी नीतिका कारण अबका केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प नभएको भन्दै करोडाँैको लगानी गरेर उद्योग स्थापनामा जोखिम लिनु भन्दा ट्रेड ब्यापारले प्रोत्साहन पाउने उद्योगीहरुले धारणा राखे।
सरकारको यस्तो नीतिले नेपाल पूर्णरुपमा कृषि खाद्य बस्तु आयात गर्ने देश बन्ने संभावना उद्योगीहरुले औँल्याएका छन्।
सर्वसाधारणको दैनिक खाद्य बस्तुमा मूअ कर लागेको बताउँदै यो करको भार उद्यमीमा मात्र नभएर उपभोक्तामा समेत पर्ने भएकाले सहयोगका लागि आटा ब्यवसायी संघले नेपाल सरकारलाई आग्रह गरेको छ।
मूल्य अभिबृद्दी कर पछि आंटाको मूल्य लगभग प्रति केजी ५ देखि ६ रुपैयाँ बढने आटा उद्योग संघले बताएको छ।