कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी भित्र्याउन तथा बेच्न केहीमा रोक नलगाएको कालिमाटी बजार विकास समितिले बताएको छ।
सरकारले विश्वभर कोरोना भाइरसको उच्च शतर्कता अपनाउँदै लकडाउन जारी गरेपनि कालिमाटी बजारमा तरकारी भित्र्याउन तथा बेच्नमा कुनै अवरोध नभएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
‘हामीले केहीमा रोक लगाएका छैनौं, बजारमा मान्छे किन्न आउँदैनन् त के गर्नु,’ उनले भने।
उनका अनुसार देशभर लकडाउन जारी भएपछि कालिमाटी बजारमा तरकारी किन्न आउनेको संख्या घट्दै गएको छ। त्यसका साथै तरकारी आउने क्रम पनि घटेको छ।
‘अन्य समयमा ९ सयदेखि ११ सय टनसम्म तरकारी आउँथ्यो, अहिले दुईदिनमा त्यति आएको छ,’उनले भने।
लकडाउनको अवस्थामा पनि उक्त परिमाणको तरकारी आउनु राम्रै भएको उनी बताउँछन्।
‘व्यापारीलाई उपभोक्ता किन्न आउँछन् की आउँदैनन्, मूल्य पाइन्छ की पाइँदैन, सामान लगेर फर्किन पाइने हो होइन भन्ने डर छ,’ उनले भने, ‘यस्तो अवस्थामा यति सामान आउनुलाई राम्रै मान्नुपर्छ।’
छिमेकी मुलुक भारतबाट पनि निरन्तर सामान आइरहेको उनले जानकारी दिए। उनका अनुसार विहान र बेलुकाको समयमा भने तरकारीको कारोबार भइरहेको छ।
‘दिउँसो ग्राहक आफै आउँदैनन्, बिहान र बेलुका मात्र मान्छे तरकारी किन्न आउँछन्,’ उनले भने।