इरान युद्ध सुरू भएदेखि संसारभरि पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम जारी छ। यसको प्रभाव नेपालमा पनि परेको छ।
इरान युद्ध सुरू भएयता २०८२ फागुन १६ देखि २०८२ चैत २० गतेसम्म नेपालमा सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
नेपाल आयल निगमका नायब निर्देशक नागेन्द्र शाहले भने भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त बिक्री मूल्यका आधारमा न्यूनतम मात्र मूल्य समायोजन गरेको बताएका छन्।
पछिल्लो एक महिनामा पेट्रोलको मूल्य प्रतिलिटर ४५ रूपैयाँ बढेको छ। फागुन १६ गतेसम्म प्रतिलिटर १५७ रूपैयाँ रहेको पेट्रोल अहिले २०२ रूपैयाँ पर्छ। यही अवधिमा भारतले पेट्रोलको मूल्य प्रतिलिटर ७० रूपैयाँ बढाएर पठाएको निगमले जनाएको छ।
त्यस्तै, डिजेलको मूल्य प्रतिलिटर एक महिनायता ३० रूपैयाँ बढेको छ। फागुन १६ गतेसम्म काठमाडौंमा डिजेलको मूल्य प्रतिलिटर १५२ रूपैयाँ थियो। अहिले १८२ पुगेको छ।
भारतले भने डिजेलको मूल्य प्रतिलिटर १४९ रूपैयाँ बढाएको शाहले जानकारी दिए।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यो अवधिमा बढेको छैन। ग्यास प्रतिसिलिन्डर १ हजार ९ सय १० रूपैयाँमा बिक्री भइरहेको छ। आधा सिलिन्डरका दरले पनि बिक्री भइरहेको छ, जसको मूल्य ९ सय ५५ रूपैयाँ पर्छ।
नेपालमा मूल्य नबढे पनि भारतले प्रतिसिलिन्डर १९० रूपैयाँले वृद्धि गरिसकेको आयल निगमले जनाएको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य यस अवधिमा करिब ३८ प्रतिशत बढेको छ। फेब्रुअरीको अन्त्यमा प्रतिब्यारेल ७९ डलर रहेको कच्चा तेल अहिले प्रतिब्यारेल १०९ डलर पुगेको छ। यही कारणले भारतीय बजारमा औद्योगिक डिजेलको मूल्य (बजार मूल्यमा चल्ने) २५ प्रतिशत बढेको छ।
खाडी क्षेत्रमा इरान–अमेरिका सम्बन्धमा आएको तनाव र स्ट्रेट अफ हर्मुज आसपास आपूर्ति अवरूद्ध हुन सक्ने जोखिमले विश्व बजारमा त्रास सिर्जना गरेको छ। विश्व बजारमा खपत हुने तेलको ठूलो हिस्सा यही मार्गबाट आपूर्ति हुने भएकाले त्यहाँ अवरोध उत्पन्न हुँदा मूल्यमा असर पर्छ।
यसबाहेक कच्चा तेल उत्पादक देशहरूको आपूर्ति व्यवस्थापन, उत्पादन कटौती र ढुवानी जोखिम समेत मूल्य वृद्धिका थप कारण बनेका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि त्यसकै आधारमा निर्धारण हुने पेट्रोल, डिजेल र ग्यासको मूल्य पनि स्वतः बढ्ने भएकाले समग्र पेट्रोलियम पदार्थको मूल्यमा असर पर्छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कच्चा तेलको मूल्य एक वर्षसम्म प्रतिब्यारेल १० डलर बढ्दा बजार मूल्य ०.४ प्रतिशत विन्दुले बढ्छ।
अर्थशास्त्री गुणाकर भट्टका अनुसार तेल संकटले विश्व अर्थतन्त्रलाई आर्थिक संकुचनतर्फ लैजाने जोखिम बढाएको छ।
'अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १० डलर बढ्दा विश्व आर्थिक वृद्धि ०.१५ प्रतिशत घट्छ। भारतमा महँगी बढ्दा नेपालमा त्यसको असर तुरून्त देखिन्छ। त्यसैले तेल महँगिए नेपालमा पनि मूल्यवृद्धि हुने र आर्थिक वृद्धि घट्ने सम्भावना हुन्छ,' उनले भने, 'यस्तो अवस्था लामो समय रह्यो भने हाम्रो बाह्य क्षेत्र र आन्तरिक माग दुवै कमजोर हुन सक्छ।'
त्यस्तै, महँगो तेल आयात गर्दा डलरमा बढी खर्च गर्नुपर्दा विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने र यसले अर्थतन्त्रमा असन्तुलन बढ्ने पनि उनले बताएका छन्।