इलामका डाँडापाखा यतिबेला हरियालीले ढाकिएका छन्। चियाका बोटहरूमा रहर लाग्दो गरी मुना लहलह छन्।
यदी सामान्य अवस्था हुँदो हो त यो समय चिया किसानका लागि वर्षकै सबैभन्दा व्यस्त र आशालाग्दो याम हुन्थ्यो।
सबैभन्दा धेरै आम्दानी हुने सिजनमा बिहान सबेरैदेखि चियाबारीमा चहलपहल हुन्थ्यो। मजदुरहरू पत्ती टिप्न व्यस्त हुन्थे, उद्योगका मेसिनहरू निरन्तर चलिरहेका हुन्थे। यसपालि मुख्य सिजनमै चियाबारीबाट यो दृश्य गायब हुन पुगेको छ।
सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाल आफ्नो ४० रोपनी चियाबारीको डिलमा उभिएर चियाका हरिया मुनाहरू हेर्छन्। सधैं आयस्ताको आशा बन्ने चियाका मुना अहिले उनका लागि चिन्ताको मुख्य कारण बन्न पुगेको छ।
‘तीन दिनदेखि हरियो पत्ती टिप्न बन्द गरेका छौं,’ कटुवालले भने, ‘चियाका फ्याक्ट्री नै बन्द भएपछि टिपेर कहाँ लैजानु? मुख्य सिजनमै हरियो पत्ती खेर जाने भयो।’
उनको स्वरमा निराशा छ। हरियो पत्ती खेर जाने भयले आँखाअघि फैलिएको आकर्षक हरियालीले पनि उनलाई खुसी दिन सकेको छैन।
उनका अनुसार एक किलो हरियो पत्ती ४० देखि ६० रूपैयाँसम्म बिक्री हुन्छ। अहिले बारीभरि मुनाहरू छन्, तर टिप्ने अवस्था छैन। यही बेला उत्पादन पनि धेरै हुन्छ, गुणस्तर पनि राम्रो हुन्छ।
‘आजभोलि नै फ्याक्ट्री नखुले सबै खेर जाने चिन्ता छ,’ उनले सुनाए।
इलाम सूर्योदय नगरपालिकाका २२ सयभन्दा बढी र इलामभरिका करिब ४८ सय चिया किसानको अवस्था अहिले उनको भन्दा फरक छैन।
भारतीय अवरोधका कारण उद्योगीहरूले चिया उद्योग बन्द गरेको तीन दिन भएको छ।
बिहीबारदेखि झापाका पनि सबै चिया उद्योग बन्द हुँदैछन्। भारतीय अवरोधको असर केही दिनअघिसम्म उद्योगीहरूसम्म मात्रै थियो। अहिले भने यसले किसान, चिया मजदूर हुँदै चिया क्षेत्रका सबैलाई प्रभावित पारेको छ।
सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूका अनुसार असार १ गतेदेखि इलामका ७३ वटा उद्योग बन्द भइसकेका छन्। झापाका ३६ उद्योग पनि बन्द हुने तयारीमा छन्।
‘दैनिक रूपमा करोडौं केजी हरियो पत्ती उत्पादन हुने क्षेत्र अहिले ठप्प छ,’ उनले भने, ‘चिया क्षेत्रमा करिब ६५ हजार मानिसको रोजगारी जोडिएको छ। उद्योग बन्द भएपछि किसान, मजदुर र उद्योगी सबै प्रभावित भएका छन्।’
नेपाली चियाको मुख्य निर्यात गन्तव्य भारतले लगाएको नयाँ बखेडाले निम्त्याएको समस्या समाधानमा सरकार उदासिन बन्दा यस्तो अवस्था आएको चिया क्षेत्रका सरोकारवाला बताउँछन्।
‘चिया समस्याबारे सरकार बेखबर छैन। तर सुरूदेखि अहिलेसम्म सरकारले कुनै तदारूकता देखाएन,’ चिया उद्योगी दिनेश अग्रवालले भने, ‘सरकारले चिया क्षेत्रलाई किन प्राथमिकतामा नराखेको हो कुरै बुझ्न सकिएन।’
उद्योगीहरूका अनुसार भारतीय टी बोर्डले लागू गरेको नयाँ प्रक्रियागत व्यवस्थाका कारण नेपाली चिया निर्यात असहज बनेको छ। चिया भारत प्रवेश गरेपछि गोदाममा रोक्ने, नमूना संकलन गर्ने र प्रयोगशाला परीक्षणको प्रतिवेदन नआएसम्म बिक्री गर्न नदिने अभ्यासले व्यापारिक चक्र नै भत्किएको छ।
‘पहिले बोर्डरमै रोक्थ्यो, अहिले भारत पुगेपछि गोदाममा राखेर रोक्छन्,’ चिया उद्योगी लिम्बू भन्छन्, ‘यहाँबाट कोलकाता चिया पुग्छ, त्यसको आठ–दस दिनपछि नमूना लिन्छन्, त्यसपछि १५–२० दिनमा मात्रै रिपोर्ट आउँछ। कतिपयको त अहिलेसम्म रिपोर्ट नै आएको छैन।’
रिपोर्ट नआउँदासम्म चिया बेच्न पाइँदैन। पैसा आउँदैन। यही समस्याले उद्योगीहरू उत्पादन नै रोक्न बाध्य भएका छन्।
अहिले इलामबाट मात्रै करिब दुई लाख ५० हजार किलो तयारी अर्थोडक्स चिया भारततर्फका गोदाममा थन्किएको उद्योगीहरूको अनुमान छ। सिटिसी चिया समेत जोड्दा यो परिमाण तीन लाख किलो नाघिसकेको छ।
नेपालभित्रका उद्योगहरूमा थप १० देखि १५ लाख किलो तयारी चिया बिक्रीविहीन अवस्थामा रहेको छ।
‘गोदाममा थन्किएको त्यो चिया केवल उत्पादन मात्रै होइन, उद्योगीहरूको लगानी हो। किसानको भुक्तानी हो। मजदुरको ज्याला हो,’ चिया उद्योगी आदित्य पराजुलीले भने, ‘अहिले इलाममा मात्रै बन्द छ। बिहीबारबाट झापाका पनि सबै उद्योग बन्द हुँदैछन्।’
चिया क्षेत्रका जानकारहरूका अनुसार चिया खेतीमा समय अत्यन्त महत्वपूर्ण हुन्छ। निश्चित समयमा टिपिएका कोमल दुई पात र एक सुईले मात्रै गुणस्तरीय चिया बन्छ। केही दिन ढिलो भयो भने पत्ती बूढो हुन्छ। गुणस्तर घट्छ। जब गुणस्तर घट्छ, मूल्य स्वतः घट्ने जोखिम भइहाल्छ।
त्यसैले किसानहरूलाई अहिले उत्पादनभन्दा बढी समयको चिन्ता छ।
सूर्योदयका किसान कटुवालले भने, ‘पानी परेर चिया झन् राम्रो भएको छ। तर पत्ती टिप्न पाएनौं भने यही राम्रो उत्पादन पनि काम लाग्दैन।’
यसको असर मजदुरमाथि झन् कठोर छ। चिया टिप्ने, बोक्ने, प्रशोधन गर्ने र प्याकिङ गर्ने हजारौं श्रमिकको आम्दानी दैनिक ज्यालामा निर्भर हुन्छ।
उद्योग बन्द भएपछि उनीहरूको आयस्रोत एकैपटक रोकिएको छ। कतिपय मजदुरको घरमा साँझको चुलो दैनिक ज्यालाले मात्रै बल्ने गर्छ।
उद्योगका मेसिन बन्द हुँदा उनीहरूको दैनिकी पनि पनि अनिश्चित बनेको छ।
‘उद्योगहरू बन्द हुनु भनेको ६५ हजार हाराहारी चिया मजदुरहरूको दैनिक रोजीरोटी खोसिनु हो,’ चिया मजदूर नेता भरत राईले भने, ‘अहिले ठ्याक्कै त्यस्तै अवस्था आएको छ।’
चिया क्षेत्रसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका करिब ६५ हजार रोजगारी अहिले जोखिममा परेको उनको भनाइ छ।
चिया क्षेत्रको यो संकटबारे प्रतिनिधिसभामा लगातार कुरा उठिरहेको छ। बुधबार मात्रै इलामका प्रतिनिधिसभा सदस्य निश्कल राईले सरकारले चिया क्षेत्रको समस्याप्रति गम्भीरता नदेखाएको भन्दै संसदमा प्रश्न उठाएका छन्।
उनले गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चियाको निर्यात प्रक्रियामा जटिलता थपेको र त्यसकै कारण इलामका उद्योगहरू बन्द हुन पुगेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
राईले उद्योग बन्द हुँदा किसानको हरियो पत्ती बारीमै खेर गइरहेको, मजदुरको रोजगारी गुमिरहेको र उद्योगीहरू बैंक ऋणको ब्याज तिर्नसमेत नसक्ने अवस्थामा पुगेको उल्लेख गरे।
सरकारले तत्काल कूटनीतिक पहल गरेर निर्यातको अवरोध हटाउनुपर्ने र दीर्घकालीन रूपमा तेस्रो मुलुकमा समेत नेपाली चियाको बजार विस्तार गर्नुपर्ने उनको माग थियो।
हाल नेपालभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। देशभर साना–ठूला गरी करिब १२० उद्योग सञ्चालनमा छन्।
नेपाली अर्थोडक्स चियाको करिब ९० प्रतिशत बजार भारत हो। सिटिसी चियाको झन्डै आधा हिस्सा पनि भारतमै जान्छ।
गत वर्ष मात्रै नेपालले सिटिसी र अर्थोडक्स चिया निर्यातबाट चार अर्ब ७५ करोड रूपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको थियो। वार्षिक साढे चार अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याउने यो क्षेत्र अहिले अस्तित्वकै संकटमा पुगेको उद्योगीहरूको भनाइ छ।