पृथ्वीराजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको छ। हेटौंडाको वैकल्पिक बाटोबाट पनि इन्धन काठमाडौं ल्याउन थालिएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिर नजिकै त्रिशूली नदीले सडक कटान गरेको छ।
सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
यससँगै राजधानीमा अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंका गरिएको थियो।
तर, निगमले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाएको जनाएको छ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको बताए।
हेटौंडाबाट पनि इन्धन काठमाडौं ल्याउन सुरू गरिएको उनले जानकारी दिए।
'पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको छ। हेटौंडाबाट पनि आउन सुरू गरेको छ,' साहले भने, 'त्यसैले काठमाडौंमा इन्धनको समस्या हुँदैन।
इन्धन आपूर्तिको मुख्य आधार अमलेखगञ्ज डिपो हो। अमलेखगञ्जमा पाइपलाइनबाट सिधै इन्धन आउने गरेको छ।
त्यहाँबाट साना क्षमताका ट्यांकरमार्फत काठमाडौंमा इन्धन ल्याइनेछ। निजी ढुवानीकर्ता तथा डिलरका २० र १२ किलो लिटर क्षमताका ट्यांकर प्रयोग गरिने साहले बताए।
'सडकका कारण आपूर्ति शृंखलामा एक–दुई घण्टा तलमाथि हुन सक्छ,' साहले भने, 'तर आपूर्तिमा समस्या हुँदैन।'
खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक बाटो प्रयोग गरिने भएको छ।
ग्यासका अधिकांश प्लान्ट तराई क्षेत्रमा रहेकाले त्यहाँबाट ग्यास लोड गरेर हेटौंडा हुँदै काठमाडौं ल्याइने निगमले जनाएको छ।
केही दिनअघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश इन्धन ट्यांकर शनिबार नै काठमाडौं भित्रिसकेका छन्।
त्यसैले तत्काल बजारमा इन्धनको अभाव नहुने निगमको भनाइ छ।