फ्रान्सको राजधानी पेरिस नजिकैको क्रेतेय सहरमा रहेको एउटा माध्यमिक विद्यालयमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दा सायद कसैले सोचेका थिएनन्, उनीहरूको आवाज केही सातामै देशभर फैलिनेछ।
सेप्टेम्बर १८ मा सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा विद्यार्थीहरू विद्यालयको अवस्थाविरूद्ध प्रदर्शन गरिरहेको देखिन्थे। गर्मी बिदा सकेर विद्यालय फर्किएका उनीहरूको असन्तुष्टि थियो—पढाइको बोझ धेरै भयो, तर त्यसअनुसार विद्यालयमा स्रोतसाधन छैनन्।
सुरूमा यो विद्यालयको समस्या थियो। विद्यार्थीहरूले पर्याप्त शिक्षक र कर्मचारी नभएको, कक्षाकोठा जीर्ण रहेको, विद्यार्थीको चापअनुसार पूर्वाधार नभएको र उच्च शिक्षामा भर्ना प्रक्रियामा त्रूटि रहेको भन्दै विरोध गरिरहेका थिए।
तर उनीहरूको असन्तुष्टि त्यही विद्यालयको ढोकामा रोकिएन।
केही दिनमै पेरिस आसपासका अरू विद्यालयका विद्यार्थी पनि प्रदर्शनमा ओर्लिए।
राजधानीका गरिब बस्तीमा रहेका विद्यालयका प्रवेशद्वार बन्द गरिए। कतै विद्यार्थीहरूले साइकल र अन्य सामान राखेर विद्यालयको बाटो छेके, कतै फोहोरका डब्बामा आगो लगाए।
सेप्टेम्बरको अन्त्यसम्म आइपुग्दा आन्दोलन फ्रान्सका करिब ४०० विद्यालयमा फैलिसकेको थियो। माध्यमिक विद्यालयका विद्यार्थीहरूको संगठनले शिक्षक र कर्मचारीको अभाव, जीर्ण विद्यालय भवन तथा अव्यवस्थित पढाइलाई आन्दोलनको मुख्य कारण बताएको थियो।
त्यतिबेला यो आन्दोलनलाई विद्यार्थीको शैक्षिक असन्तुष्टिका रूपमा बुझ्न सकिन्थ्यो। तर फ्रान्समा चर्किरहेको अर्को असन्तुष्टिसँग जोडिएपछि यसको स्वरूप बदलिन थाल्यो।
फ्रान्सेली समाजमा महँगी बढिरहेको थियो। इन्धनको मूल्यले सर्वसाधारणको खर्च बढाएको थियो। आर्थिक वृद्धि सुस्त थियो र धनी तथा गरिबबीचको दूरीप्रति असन्तुष्टि बढ्दै थियो।
विद्यालयमा देखिएको समस्या यही व्यापक असन्तुष्टिको एउटा अभिव्यक्ति बन्न पुग्यो।
अक्टोबर २ सम्म आइपुग्दा फ्रान्सको गृह मन्त्रालयका अनुसार आन्दोलन एक हजारभन्दा बढी विद्यालयमा फैलिएको थियो। तीमध्ये २२० विद्यालयमा विद्यार्थीहरूले प्रवेश अवरूद्ध गरेका थिए।
विश्वविद्यालयका विद्यार्थी पनि आन्दोलनमा सहभागी हुन थाले।
यससँगै प्रदर्शनको केन्द्रमा विद्यालयको समस्या मात्र रहेन। सरकारको आर्थिक नीति र देशको समग्र अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नेहरू पनि सडकमा आउन थाले।
अक्टोबरको पहिलो सातासम्म मजदुर युनियन, अभिभावक र विभिन्न सामाजिक अभियानमा संलग्न समूह आन्दोलनमा जोडिए। उनीहरूका माग एउटै थिएनन्, तर असन्तुष्टिको साझा बिन्दु थियो—सरकारले सर्वसाधारणका समस्या पर्याप्त रूपमा सम्बोधन गरिरहेको छैन।
अक्टोबर ६ मा फ्रान्सको गृह मन्त्रालयका अनुसार पेरिससहित ४० सहरमा करिब दुई लाख ५६ हजार मानिस प्रदर्शनमा सहभागी भए। त्यसको दुई दिनपछि देशका विभिन्न स्थानमा भएका प्रदर्शनमा ७१ हजार ५०० मानिस सहभागी भएको सरकारी अनुमान थियो। अक्टोबर १३ मा भएको प्रदर्शनमा एक लाख ६० हजार मानिस सहभागी भए।
एउटा विद्यालयबाट सुरू भएको असन्तुष्टि अब देशव्यापी आन्दोलनमा बदलिइसकेको थियो।
तर आन्दोलनको विस्तारसँगै त्यसको स्वरूप पनि जटिल बन्न थाल्यो। शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूसँगै तोडफोड र लुटपाट गर्ने समूह पनि देखिन थाले।
विद्यालयमा आगजनी, सार्वजनिक भवनमा क्षति र प्रहरीमाथि आक्रमणका घटना हुन थालेपछि सरकारले आन्दोलनलाई केवल जायज असन्तुष्टिका रूपमा हेर्न छाड्यो।
शिक्षामन्त्री एडुआर गेफ्रेले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरेका थिए। तर प्रदर्शनका क्रममा शिक्षक र विद्यालयका प्रधानाध्यापकलाई निशाना बनाइएको भन्दै उनले हिंसात्मक गतिविधिको आलोचना गरेका थिए।
सेप्टेम्बरको अन्त्यसम्म करिब ८० जना घाइते भएका थिए भने ४४० भन्दा बढीलाई पक्राउ गरिएको थियो। अक्टोबर २ सम्म आइपुग्दा प्रहरी, विद्यालयका कर्मचारी र विद्यार्थी गरी करिब ६३० जना घाइते भएको विवरण सार्वजनिक भयो।
पक्राउ पर्नेको संख्या तीन हजार पुगेको थियो।
अक्टोबर ६ को प्रदर्शनपछि पक्राउ पर्नेको संख्या छ हजार पुगेको सरकारले जनाएको थियो। प्रहरीको बल प्रयोगलाई लिएर पनि प्रश्न उठ्न थाले।
न्यायाधीश तथा अभियोजकहरूको एउटा प्रमुख संगठन र मानवअधिकारवादी समूहले १४ वर्षका बालबालिकामाथिसमेत प्रहरीले असमानुपातिक बल प्रयोग गरेको आरोप लगाए।
आन्दोलनमा सबैभन्दा ठूलो मोड भने अक्टोबर १७ मा आयो।
त्यस दिन देशभर भएका ११० वटा प्रदर्शनमा सरकारी अनुमानअनुसार पाँच लाख ५० हजारभन्दा बढी मानिस सहभागी भए।
मजदुर संगठन सीजीटीले भने प्रदर्शनकारीको संख्या आठ लाख पुगेको दाबी गर्यो। सेप्टेम्बरमा सुरू भएको आन्दोलनयताकै त्यो सबैभन्दा ठूलो प्रदर्शन थियो।
पेरिसमा मात्रै एक लाखभन्दा बढी मानिस शान्तिपूर्ण जुलुसमा सहभागी भएका थिए।
तर केही सय मानिसको समूहले पसलका सिसा फुटाउने, गाडीमा आगो लगाउने र लुटपाट गर्ने गतिविधि गरेपछि स्थिति बिग्रियो।
फ्रान्सका अधिकारीहरूका अनुसार त्यस सप्ताहान्तमा देशभर करिब एक हजार ५०० पसलमा तोडफोड भएको थियो। कम्तीमा तीन हजार व्यवसायमा लुटपाट वा तोडफोड भएको सरकारी विवरण पनि सार्वजनिक भयो।
मध्य फ्रान्सको लिमोज सहरमा प्रदर्शनकारीले १९औं शताब्दीमा बनेको नगरपालिकाको भवनमा आगो लगाए।
आगोले भवनको टुप्पो ढलेको दृश्य सामाजिक सञ्जालमा फैलियो।
पेरिस, मार्सेली र अन्य सहरमा पसल लुट्ने तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने दृश्यले आन्दोलनको चर्चालाई विद्यालय र महँगीको विषयबाट सुरक्षा तथा कानुन व्यवस्थातर्फ मोडिदियो।
राष्ट्रपति इम्यानुएल म्याक्रोंले अक्टोबर १८ मा टेलिभिजन सम्बोधन गर्दै इन्धनको मूल्य घटाउने प्रयास गर्ने बताएका थिए।
तर तोडफोडमा संलग्नलाई कारबाही गर्ने चेतावनी पनि दिए।
'लुटपाट गर्नेहरूले क्षतिको भरपाई गर्नुपर्नेछ र गणतन्त्रलाई ढाल्न खोज्नेहरूलाई जवाफदेही बनाइनेछ,' उनले भनेका थिए।
सरकारले पेरिस, लिल र निसका केही क्षेत्रमा रात्रिकालीन कर्फ्यु लगायो। मार्सेलीसहित अन्य सहरमा ठूलो जमघटमा प्रतिबन्ध लगाइयो।
गृहमन्त्री लरेन नुनेजले अघिल्लो साताको प्रदर्शनका लागि प्रहरी पर्याप्त तयारीमा नरहेको स्वीकार गरे।
उनले राष्ट्रपति म्याक्रोंसमक्ष राजीनामा दिने प्रस्तावसमेत राखेका थिए, तर म्याक्रोंले त्यसलाई अस्वीकार गरे। त्यसपछि सरकारले अर्को प्रदर्शनका लागि सुरक्षा व्यवस्था थप कडा बनाउने घोषणा गर्यो।
त्यसको एक सातापछि, अक्टोबर २४ मा फेरि देशभर प्रदर्शन भयो।
गृह मन्त्रालयका अनुसार यसपटक चार लाख १० हजार मानिस सहभागी भए। सिजिटीले भने आठ लाख मानिस सडकमा आएको दाबी गर्यो।
सरकारले ७० हजार प्रहरी र जाँदरम परिचालन गरेको थियो। सैनिक, सशस्त्र सवारीसाधन, ड्रोन र हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको थियो।
यसपटक दिनभरजसो प्रदर्शन शान्तिपूर्ण रह्यो। तर साँझ पर्दै जाँदा पेरिस र मार्सेलीसहित विभिन्न सहरमा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भयो।
पेरिसमा करिब ५०० जनाको समूहलाई तितरबितर पार्न प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रयोग गर्यो। मार्सेलीमा युवाहरूले सडक अवरूद्ध गर्न फोहोरका डब्बामा आगो लगाए र प्रहरीमाथि ढुंगा तथा बोतल प्रहार गरे।
गृहमन्त्री नुनेजका अनुसार शनिबार साँझसम्म करिब एक हजार मानिस पक्राउ परेका थिए। तर अघिल्लो साताको तुलनामा तोडफोड र लुटपाट सीमित सहरमा मात्र भएको थियो।
यसपटकको प्रदर्शनलाई सरकारले अघिल्लो साताको तुलनामा कम क्षति भएको घटनाका रूपमा व्याख्या गरेको छ। तर ठूलो संख्यामा मानिस सडकमा आउनुले फ्रान्समा असन्तुष्टि अझै गहिरो रहेको देखाएको थियो।
पेरिसमा भने सुरक्षाको प्रभाव जनजीवनमै देखियो।
लुभ्र, म्युजे द'ओर्से र पेरिस ओपेराजस्ता प्रसिद्ध सांस्कृतिक स्थल बन्द गरिए।
चर्चित शाँजेलिजे क्षेत्रमा पसलका सिसा जोगाउन काठका पाता लगाइए। मेट्रोका २० भन्दा बढी स्टेसन बन्द हुँदा पर्यटक र स्थानीय प्रभावित भए।
आन्दोलनमा सहभागी कतिपयले सरकारले पसल र भवनको सुरक्षालाई गरिबीमा परेका मानिसको समस्याभन्दा बढी प्राथमिकता दिएको आरोप लगाए।
२२ वर्षीया कला विद्यार्थी क्लारा लेब्बादीले भनेकी थिइन्, 'हामी पसलका लागि आँसु बगाउँछौँ, तर वर्षभरि गरिब हुँदै गइरहेका मानिसका लागि होइन।'
यही असन्तुष्टि आन्दोलनको एउटा महत्त्वपूर्ण पाटो हो।
विद्यालयको पूर्वाधार र पढाइको बोझबाट सुरू भएको विरोध अहिले महँगी, इन्धनको मूल्य, आर्थिक असमानता र सरकारको नीतिप्रतिको असन्तुष्टिसँग जोडिएको छ।
आन्दोलनले फ्रान्सको राजनीतिक बहसलाई पनि प्रभावित पारेको छ।
राष्ट्रपति म्याक्रोंको कार्यकाल अर्को वर्ष सकिँदै गर्दा नयाँ नेतृत्वका लागि राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै छ।
यसले दक्षिणपन्थी दल नेसनल र्याली र त्यसकी नेतृ मारिन ले पेनलाई समेत फाइदा पुग्न सक्ने आकलन गरिएको छ।
अक्टोबर २४ मा ओरलियाँ सहरमा नेसनल र्यालीको महाधिवेशन चलिरहेका बेला उक्त दलविरूद्ध पनि प्रदर्शन भएको थियो। त्यहाँको जुलुस भने शान्तिपूर्ण रह्यो। तर यसले आन्दोलन अब विद्यालय र आर्थिक नीतिमा मात्र सीमित नरहेको देखाउँछ।
क्रेतेयको एउटा विद्यालयमा विद्यार्थीहरूले उठाएको प्रश्न अझै बाँकी छ—विद्यालयमा पर्याप्त स्रोतसाधन किन छैनन्? तर त्यो प्रश्न अहिले लाखौँ मानिसका लागि अर्को प्रश्नसँग जोडिएको छ—देशको आर्थिक र राजनीतिक व्यवस्था कसका लागि काम गरिरहेको छ?
फ्रान्सको आन्दोलन देशव्यापी बन्नुको कारण यही हो।
सुरूमा विद्यार्थीको शैक्षिक असन्तुष्टि थियो। त्यसमा महँगीले थिचिएका सर्वसाधारण, मजदुर संगठन र सरकारको नीतिविरूद्ध असन्तुष्ट समूहहरू जोडिए। तर आन्दोलनमा घुसेको हिंसा र लुटपाटले त्यसको दिशा र सरकारको प्रतिक्रिया दुवैलाई जटिल बनाइदिएको छ।
अहिले फ्रान्समा देखिएको दृश्य एउटा विद्यालयको समस्या देशभर फैलिएको मात्र होइन।
फरक–फरक असन्तुष्टि कसरी एउटै आन्दोलनमा मिसिन सक्छन् र त्यसले कसरी देशको राजनीति तथा जनजीवनलाई प्रभावित पार्न सक्छ भन्ने उदाहरण पनि हो।