रसुवामा आएको बाढीबाट भएको क्षतिको राहत तथा व्यवस्थापनका लागि अर्घाखाँची सिमेन्टले १ करोड ११ लाख रूपैयाँ सहयोग गरेको छ।
कम्पनीका सञ्चालक पशुपति मुरारका, राजेश अग्रवाललगायतले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। सडक, पुल, विद्युत तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि जनजीवन प्रभावित भएको छ।
बाढी र पहिरोका कारण कतिपय क्षेत्रमा आवतजावतसमेत प्रभावित भएको छ। प्रभावित क्षेत्रमा तत्काल राहतसँगै क्षतिग्रस्त संरचनाको व्यवस्थापन र पुनःस्थापनाको आवश्यकता छ।
यही अवस्थामा निजी क्षेत्रबाट पनि सहयोग जुट्न थालेको हो।
अर्घाखाँची सिमेन्टले बाढी प्रभावित क्षेत्रको राहत तथा व्यवस्थापनमा सहयोग पुग्ने गरी रकम उपलब्ध गराएको जनाएको छ।
आइतबार अर्थमन्त्रीसँगको भेटमा कम्पनीका सञ्चालकहरूले विपद्को समयमा सरकारसँग हातेमालो गर्दै प्रभावित नागरिकलाई सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताए।
बाढीपछिको उद्धार, राहत, अस्थायी व्यवस्थापन र पुनःस्थापनाका काममा ठूलो स्रोत आवश्यक पर्ने भएकाले निजी क्षेत्रको सहयोगले सरकारलाई थप सहज हुने अपेक्षा गरिएको छ।