भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि दुगड परिवारले एक करोड एक लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
सेञ्चुरी ग्रुपका अध्यक्ष तथा पूर्वमन्त्री मोती दुगडले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
दुगड परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद दिएको छ। त्यस्तै, ५० लाख रुपैयाँ बराबरको राहत सामग्री तथा खाद्यान्न उपलब्ध गराएको हो।
दुगडले प्राकृतिक विपत्तिको समयमा मानवीय सहयोग र सामूहिक एकता सबैभन्दा आवश्यक हुने बताए।
भोटेकोशी बाढीले धेरै परिवारमा अपूरणीय क्षति पुर्याएको भन्दै उनले सरकारसँगै निजी क्षेत्र, व्यवसायी र सर्वसाधारणले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए।
सेञ्चुरी ग्रुपले तत्कालै राहत सामग्री परिचालन गरिसकेको र आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने जनाएको छ।
दुगडले केही दिनभित्रै बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्थाबारे जानकारी लिने र आवश्यकताअनुसार थप मानवीय सहायता उपलब्ध गराउने बताए।