हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद प्रभावित नागरिकप्रति चितवन को–ई ग्रुपले गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ।
राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले चितवन को–ई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ५० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोगअन्तर्गत ग्रुपअन्तर्गतको मनकामना दर्शनले १ करोड २५ लाख तथा चितवन मिल्क लिमिटेडले २५ लाख रूपैयाँ सहयोग गरेका छन्।
चितवन, गोरखा तथा आसपासका क्षेत्रसँग ग्रुपको लामो समयदेखिको सामाजिक तथा व्यावसायिक सम्बन्ध रहँदै आएको छ।
यी समुदायमा विपद् आइपर्दा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै प्रभावित नागरिकको साथमा उभिने प्रतिबद्धता अनुरूप उक्त सहयोग गरेको हो।
ग्रुपका दिवंगत संस्थापक लक्ष्मणबाबु श्रेष्ठले व्यवसायको सफलता समुदायको सहयोग, विश्वास र सम्बन्धसँग जोडिएको हुने भएकाले कठिन परिस्थितिमा समुदायप्रति जिम्मेवार बन्नुपर्ने मान्यता राख्दै आएका थिए।
उवले स्थापित गरेको यही सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिँदै ग्रुपले विपद्को समयमा सहयोग प्रदान गरेको हो।
उक्त सहयोगले विपदबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यलाई अघि बढाउन र प्रभावित समुदायलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने विश्वास ग्रुपले लिएको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै चितवन को–ई ग्रुपले राहत तथा उद्धारमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान तथा आभार व्यक्त गरेको छ।