दाङमा पहिलो पटक राइड–सेयरिङ प्लेटफर्म 'दाङ इ–ड्राइभ' सुरू भएको छ।
पठायो एक्स दाङ इ–ड्राइभ प्रालिले शुक्रबारदेखि आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको हो।
तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिरमा पूजापछि राइड–सेयरिङ प्लेटफर्म दाङ इ–ड्राइभले आफ्नो सेवाको औपचारिक रूपमा शुभारम्भ गरेको प्रालिका अध्यक्ष अरूण लहरेले बताए।
दाङ इ–ड्राइभले विगत डेढ–दुई महिनादेखि नै जिल्लामा परीक्षण सेवा दिँदै आएको थियो।
प्रालिका अध्यक्ष लहरेका अनुसार हाल दाङ इ–ड्राइभमा नयाँ ११ वटा सिजी कम्पनीका विद्युतीय कारहरू छन्। त्यस्तै मोटरसाइकल १० वटा र अटो ८ वटाबाट छन्।
दाङ इ–ड्राइभ प्रालि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, प्रहरी अधिकारीका परिवार, यातायात व्यवसायी, हस्पिटल क्षेत्रका व्यक्ति लगायत विभिन्न ११ जना व्यक्तिको सहकार्यबाट सञ्चालनमा आएको हो।
यो जिल्लाको पहिलो राइड–सेयरिङ प्लेटफर्म हो।

दाङ इ–ड्राइभले आउने असोज ८ गते घोराहीमा शाखा उद्घाटन गर्ने मिति घोषणा गरेको छ।
त्यसको तयारी थालिएको तथा हाल घोराही क्षेत्रबाट ४ वटा नयाँ कारबाट सेवा दिइँदै आएको अध्यक्ष लहरेले बताए।
दाङ इ–ड्राइभले हाल काठमाडौं लगायत मुलुकका मुख्य सहरहरूबाहेक सल्यान, नेपालगञ्ज, बुटवल तथा जिल्लास्तरमा चौबिसै घन्टा सर्वसुलभ सेवा दिँदै आएको अध्यक्ष लहरेले बताए।
अटो, मोटरसाइकल जस्ता साना सवारी साधनले विकट ग्रामीण भेगमा पनि सेवा दिँदै आएका छन्।
दाङ इ–ड्राइभले छिट्टै आफ्नो मोबाइल एप पनि सञ्चालन तथा प्रयोग गर्दै आइरहेको छ।

नेपालभर सुरक्षित, सस्तो र छिटो राइड सेयरिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ सेवा सुरु गरिएको सञ्चालकले जनाएका छन्। जसबाट स्थानीय स्तरमा थप स्वरोजगारका अवसर सिर्जना हुने छन् भने सर्वसाधारणले समयअनुकूल सर्वसुलभ र भरपर्दो सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
यसैबीच कम्पनीले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ ५५ हजार ५५५ रपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले सेवा उद्घाटन गरेका हुन्।