पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी छन्।
शनिबार सम्पन्न संघको ३६औं महाधिवेशन तथा ७२औं वार्षिक साधारणसभा पछि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार साँझ सार्वजनिक गर्दै निर्वाचन समितिले शोभा गौतमलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो।
गौतमले ७५१ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३६ मत पाए भने उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरे।
संघ स्थापना भएको ७२ वर्षमा पहिलो महिला अध्यक्ष बनेकी गौतमसँगै वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र वास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानांग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रजु निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा दुर्गा बराल, अमृत पोखरेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरी पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलप्रसाद सुनार निर्वाचित भएका छन्। वस्तुगततर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरू, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद पनेरू र उद्योग सदस्यमा पिताम्बर अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
यसअघि विन्दु कोइराला र हिरा भट्टराई पनि संघको अध्यक्ष पदमा उम्मेदवार बनेका थिए। तर उनीहरू निर्वाचित हुन सकेनन्। गौतम भने संघको इतिहासमा अध्यक्ष बन्ने पहिलो महिला भएकी छन्।
को हुन् शोभा गौतम?
कास्कीकोटमा जन्मिएकी ४६ वर्षीया शोभा गौतमले २०५३ सालमा पोखराको गैह्रापाटनमा चिया पसलबाट आफ्नो व्यावसायिक यात्रा सुरू गरेकी थिइन्।
पोखरा उद्योग वाणिज्य संघको कार्यालय भवनअगाडि चिया बेच्न थालेकी उनले दुई वर्षपछि रेस्टुरेन्ट पनि सञ्चालन गरिन्। उनको पसलको ठीक अगाडि तत्कालीन जिल्ला प्रहरी कार्यालय थियो। त्यतिबेला प्रहरी कार्यालयभित्र क्यान्टिन थिएन।
माओवादी द्वन्द्वकालमा हिरासतमा रहेका माओवादीलाई खाना तथा चिया–नास्ता पुर्याइदिने काम पनि उनले गर्थिन्। यही कारण प्रहरीले उनलाई पटकपटक माओवादीप्रति सहानुभूति राख्ने व्यक्ति भएको आशंकामा केरकार गर्ने गरेको उनी सम्झन्छिन्।
‘माओवादीलाई खाना दियो भनेर प्रहरीले यो पनि माओवादी हो कि भनेर मलाई शंकाको दृष्टिले हेर्थ्यो,’ उनले भनिन्।
चिया पसल चलाउँदा उनले पटकपटक विभेदपूर्ण टिप्पणी र आक्षेप पनि सुन्नुपरेको बताउँछिन्। त्यसपछि उनले चिया पसल र रेस्टुरेन्ट छाडेर नयाँ व्यवसाय रोजिन्—ब्युटी पार्लर।
सीटीईभीटीबाट तीनमहिने आधारभूत तालिम लिएपछि उनले साथीहरूसँग मिलेर बिक्रीमा रहेको एउटा ब्युटी पार्लर किनिन्। महेन्द्रपुलमा ‘पुष्पाञ्जली हर्बल ब्युटी पार्लर’ सञ्चालन गर्दै उनले आफैं काम गर्न थालिन् र पछि तालिमसमेत दिन थालिन्। पार्लरमा दुई जना कर्मचारी पनि थिए।
एक दिन पार्लरमा आएकी एक महिलाले तीजका अवसरमा आयोजना हुने ‘मिसेस तीज’ सौन्दर्य प्रतियोगितामा सहभागी हुन उनलाई आग्रह गरिन्। गौतम पनि प्रतियोगितामा पुगिन्।
फाइनल चरणमा एक सहभागी राम्रो प्रस्तुति दिन नसकेको भन्दै भावुक भएर रोइरहेकी थिइन्। गौतम भने आत्मविश्वासका साथ आफ्नो प्रस्तुति दिइरहेकी थिइन्। तर उनी उत्कृष्ट १० मा समेत पर्न सकिनन्।
त्यही अनुभवले उनलाई सौन्दर्य प्रतियोगिता र इभेन्ट व्यवस्थापनको संसारतर्फ डोर्यायो। उनले यस्ता कार्यक्रम आयोजना गर्ने व्यवसायीहरूसँग सम्पर्क बढाउन थालिन् र कार्यक्रम कसरी सञ्चालन हुन्छन् भन्ने बुझ्न थालिन्।
यस्ता कार्यक्रमबाट राम्रो आम्दानी हुन सक्ने थाहा पाएपछि उनले आफ्नै कम्पनी खोलिन्—‘पुष्पाञ्जली फेसन एन्ड इभेन्ट’।
पोखरामा उनले ‘मिस कल्चर नेपाल’ आयोजना गर्न थालिन्। त्यतिबेलासम्म उनले ब्युटी पार्लरको व्यवसाय छाडिसकेकी थिइन्।
अविवाहित महिलाका लागि ‘मिस कल्चर नेपाल’ र विवाहित महिलाका लागि ‘मिसेस कल्चर नेपाल’ आयोजना गर्न थालेपछि उनी आफैं कार्यक्रमको सम्पूर्ण जिम्मेवारी सम्हाल्न थालिन्। स्रोत–साधन जुटाउनेदेखि प्रायोजक खोज्ने र कार्यक्रम व्यवस्थापनसम्मका अधिकांश काम उनकै काँधमा हुन्थे।
सुरूमा सहयोग नगरेका व्यवसायीहरू पनि विस्तारै जोडिन थाले। प्रायोजकको संख्या बढ्दै गयो। कार्यक्रम सफल हुँदै गएसँगै उनको व्यावसायिक यात्राले पनि गति लिन थाल्यो।
‘मिस कल्चर नेपाल’ वार्षिक रूपमा आयोजना हुन थाल्यो। त्यसपछि उनले ‘मिस कल्चर पश्चिमाञ्चल’ नामको अर्को सौन्दर्य प्रतियोगिता पनि सुरू गरिन्।
कार्यक्रमहरू नाफामा जान थालेपछि उनको काम पोखरामा मात्र सीमित रहेन। देशका विभिन्न सहरमा आयोजना हुने मेला–महोत्सव, म्युजिकल टुर तथा व्यावसायिक ब्रान्ड लन्चिङका लागि पनि उनलाई निम्तो आउन थाल्यो।
उनी आफैं आयोजक बनेर गायक प्रकाश सपुतदेखि र्यापर भिटेनसम्मलाई लिएर म्युजिकल टुर गरेको सम्झन्छिन्।
‘मैले ब्युटी प्याजेन्टबाट इभेन्ट म्यानेजमेन्ट सुरू गरेँ र पछि म्युजिकल टुर पनि गर्न थालेँ,’ उनले भनिन्, ‘म्युजिकल टुरमा प्रकाश सपुतदेखि भिटेनसम्मलाई स्टेजमा उतारेकी छु।’
उनले नेपाल टेलिभिजनको ‘दोहोरी च्याम्पियन’को फाइनल पनि पोखरामा आयोजना गरेकी थिइन्। त्यसका लागि आयोजकको भूमिका मात्र होइन, विज्ञापन र प्रायोजन जुटाउने जिम्मेवारी पनि उनले आफैं सम्हालिन्।
‘नाम पनि हुने र दाम पनि हुने’ देखेपछि उनी इभेन्ट व्यवस्थापनको क्षेत्रमा अझ सक्रिय भइन्।
पछि उनले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै मेला–महोत्सव आयोजना गर्न थालिन्। पोखराको टुँडिखेलमा सात दिन लामो तीज मेला आयोजना गरेको अनुभव पनि उनीसँग छ।
इभेन्ट व्यवस्थापन व्यवसायमा स्थापित हुँदै गरेकी गौतमलाई २०७३ सालमा पोखरा उद्योग वाणिज्य संघले एउटा उपसमितिको सदस्यमा मनोनीत गर्यो। त्यहीँबाट संघसँग उनको औपचारिक यात्रा सुरू भयो।
पछि उनी संघको कार्यसमिति सदस्य, उपमहासचिव हुँदै अघिल्लो कार्यकालमा महासचिव निर्वाचित भएकी थिइन्। अहिले भने उनी संघको ७२ वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी छन्।
उद्योग वाणिज्य संघमा आउनुअघि उनी सामाजिक क्षेत्रमा पनि सक्रिय थिइन्। उनी लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीकी संस्थापक अध्यक्ष हुन् र मानव सेवा आश्रमसँग पनि जोडिएकी छन्।
हाल उनले ‘पुष्पाञ्जली फेसन एन्ड इभेन्ट’ र ‘सफल एडभर्टाइजिङ’ सञ्चालन गरिरहेकी छन्।
गौतमका एक छोरा छन्, जो हाल अमेरिकामा अध्ययनरत छन्।
पसल, रेस्टुरेन्ट, ब्युटी पार्लर हुँदै इभेन्ट व्यवस्थापनको क्षेत्रमा संघर्षरत रहँदा छोरालाई सानो उमेरमा पर्याप्त समय दिन नसकेकोमा उनलाई अझै पनि थकथकी छ।
‘सानोमा छोरालाई ड्रेस लगाइदिने, स्कुल लैजाने र ल्याउने गर्न पाएको भए हुन्थ्यो,’ उनी भन्छिन्, ‘व्यवसायमा लागिरहँदा छोरालाई धेरै समय दिन पाइनँ। त्यसमा अहिले पनि दुःख लाग्छ।’
उनको संघर्ष केवल व्यवसाय खडा गर्ने संघर्ष मात्र थिएन। एक्लै पोखरामा बसेर छोरालाई हुर्काउनु र आफ्नो खुट्टामा उभिनु पनि उत्तिकै कठिन थियो।
संघर्षका दिनमा कहिले घरमा खानका लागि चामल हुँदैनथ्यो, कहिले चुहिने छानामुनि बस्नुपर्थ्यो। ती दिनमा आफन्त र चिनेजानेकाबाट अपेक्षा गरेको साथ नपाएको गुनासो पनि उनको छ।
‘दुःखका बेला कसैले पनि साथ दिएनन्। कहिले खानलाई चामल हुँदैनथ्यो, चुहिने छानामुनि बस्थेँ,’ उनले भनिन्, ‘अहिले त सबैले साथ दिएका छन्, राम्रो पनि भन्छन्।’