नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई 'चाँदीको बल' प्रदान गरिने भएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्कले 'एक्स्ट्रिम म्यान अफ द म्याच' अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बलबाट सम्मान गर्न लागेको हो।
प्रतियोगितामा रन र विकेटको प्रतिस्पर्धासँगै यो पुरस्कारले खेलाडीका लागि थप आकर्षण थप्ने अपेक्षा गरिएको छ।
एनपिएलको पहिलो खेलमै सुदूरपश्चिम रोयल्सका शेर मल्लले चाँदीको बल प्राप्त गरेका छन्।
सुदूरपश्चिम र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनी यस विशेष सम्मान प्राप्त गर्ने पहिलो खेलाडी बनेका हुन्।
एनपिएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिमसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यो पुरस्कारका लागि योग्य हुनेछन्।
एक्स्ट्रिमको प्रायोजनमा रहेका दुई टोलीबीच खेल हुँदा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यस पुरस्कारले प्रतियोगितामा खेलाडीको व्यक्तिगत प्रदर्शनलाई थप प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धालाई रोमाञ्चक बनाउने विश्वास गरिएको छ।