नेपाल आयल निगमले निगमबाट प्रमाणीकरण भएका तथा हाल बजारमा चलनचल्तीमा रहेका ग्यास सिलिन्डरमा मात्रै ग्यास बिक्री गर्न उद्योगी तथा विक्रेतालाई निर्देशन दिएको छ।
निगमका अनुसार २०८० सालसम्म बजारमा प्रयोगमा रहेका १ लाख ५४ हजार ग्यास सिलिन्डर छन्।
यसबाहेक थप १६ हजार सिलिन्डर रहेको अनुमान गरिएको छ।
तर पछिल्ला केही महिनादेखि बजारमा ग्यासको सहज बिक्री नभएको अवस्थामा नयाँ सिलिन्डर बजारमा आउन सक्ने भन्दै निगमले सचेत गराएको छ।
'१४.२ केजी ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था लागू भएसँगै बजारमा माग बढ्न गएको र आपूर्ति सहज गर्ने नाममा उद्योग तथा बिक्रेतामार्फत नयाँ ग्यास सिलिन्डर बिक्री गरेको भनी गुनासो आएको छ,' निगमले जारी गरेको परिपत्रमा भनिएको छ, 'उद्योग तथा बिक्रेतामार्फत नयाँ ग्यास सिलिन्डर बिक्री वितरणको कार्य नगर्न/नगराउनुहुन अनुरोध छ।'
आयल निगमका निर्देशक मनोज ठाकुरले यसले पहिलोपटक ग्यास उपभोग गर्ने उपभोक्तालाई ग्यास बिक्रीमा रोक नहुने बताएका छन्।
'हामीले उद्योगले नयाँ सिलिन्डरमा ग्यास भरेर बिक्री नगर्ने भनेका हौँ। तर नयाँ उपभोक्तालाई बिक्रीमा रोक लगाइएको होइन,' ठाकुरले भने।
आयल निगमले भरिएको सिलिन्डरमा ग्यास बिक्री गर्ने निर्णय गरेसँगै बजारमा ग्यासको माग बढेको थियो।
उपभोक्ता लामो लाइन बसेर एक सिलिन्डर ग्यास लिने अवस्थामा पुगेका थिए।
केही सहज भएको अवस्थामा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको पहिरोले ग्यास बोकेका बुलेट काठमाडौंसम्म ल्याउन नसकिएपछि फेरि ग्यासका लागि लाइन बढेको छ।