चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमाससम्म घरजग्गा कारोबारमा सुधार देखिएको राष्ट्र बैंकले घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति विवरणमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल घरजग्गा कारोबारको संख्या ६.४२ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको यही अवधिमा भने यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो।
घरजग्गा कारोबारअन्तर्गत लिखत पारितको संख्या पनि ०.६२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार ६.७१ प्रतिशतले घटेको थियो।
त्यस्तै, लिखत पारितअन्तर्गत राजीनामा कारोबारको संख्या १२.१७ प्रतिशतले वृद्धि भएको छ।
गत वर्षको तेस्रो त्रैमासमा यस्तो कारोबार ३.२६ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले बढेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कारोबार भएको क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो।
मूल्यका आधारमा पनि घरजग्गा कारोबार उल्लेखनीय रूपमा बढेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक खर्ब ८३ अर्ब ९० करोड रूपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १०० अर्ब ७ करोड रूपैयाँमा सीमित थियो।
घरजग्गा कारोबारबाट सरकारको राजस्व संकलन पनि बढेको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको छ।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो।
यस्तै, घरजग्गा कारोबारबाट संकलन भएको पुँजीगत लाभकर ३१.४२ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर १८.३१ प्रतिशतले बढेको थियो।
यद्यपि, घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा वृद्धि भने केही सुस्त बनेको छ।
समीक्षा अवधिमा आवासीय घरजग्गा कर्जासहित यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ, जबकि अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा ७.५२ प्रतिशतले बढेको थियो।
घरजग्गाको कारोबार भएको कूल क्षेत्रफलको आधारमा तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा धेरै ९.३३ प्रतिशतले घटेको छ।
सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले कारोबारकोकुल मूल्य बढेको छ।
सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरैकारोबार भएको छ।
अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा २० आनाभन्दा बढीका प्लटहरुमा सबैभन्दा धेरैकारोबार भएको थियो भने अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको थियो।