सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउने र स्वदेशी लगानी तथा रोजगारी प्रवर्द्धन गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा 'बिल्ड नेपाल एक्स्पो–२०२६' आयोजना हुने भएको छ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा एक्स्पो हुन लागेको हो।
नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले घरजग्गा कारोबारमा आएको मन्दी र लगानी अभावका कारण सुस्ताएको निर्माण क्षेत्रलाई नयाँ गति दिन एक्स्पो आयोजना गर्न लागिएको बताए।
एक्स्पोमा घरजग्गा तथा आवास परियोजना, आधुनिक निर्माण सामग्री, प्रविधि, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माणसम्बन्धी उत्पादन प्रदर्शन गरिनेछ।
घर निर्माणका सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर र सुरक्षासम्बन्धी जानकारी तथा प्राविधिक परामर्शसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले निर्माण व्यवसायलाई पुनः लयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवर्द्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवासबारे उपभोक्तालाई जानकारी दिन सहयोग पुग्ने बताए।
एक्स्पोमा निर्माण कम्पनी, घरजग्गा व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री उत्पादक तथा विक्रेता र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर उपलब्ध हुनेछ।
सरकारी निकायका प्रतिनिधि, व्यवसायी र विषयविज्ञबीच अन्तरक्रिया तथा छलफलका कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
आयोजकका अनुसार एक्स्पोमा ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्।
करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको एक्स्पोमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
इच्छुक प्रदर्शकका लागि स्टल बुकिङ खुला गरिएको छ।
एक्स्पोले चितवनसहित देशका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी आकर्षित गर्न, विदेशमा सीप र अनुभव हासिल गरेका युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।