नयाँ भन्सार ऐनका विभिन्न प्रावधानहरूमा असहमति जनाउँदै भन्सार एजेन्टहरूले काम रोकेका छन्।
सरकारले नयाँ भन्सार ऐन शनिबारबाट कार्यान्वयनमा ल्याएको छ। यसका प्रावधान तथा दण्ड–जरिवानामा कडाइ गरिएको भन्दै आजबाट काम बन्द गरिएको हो।
भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयमा भन्सार जाँचपास भएको छैन। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवालीका अनुसार भन्सार एजेन्टमार्फत गरिने कुनै पनि काम नभएको कारण आयात–निर्यात प्रभावित भएको छ।
केही समयअघि संसदबाट पारित भएको भन्सार ऐनमा रहेका व्यवस्थाहरू अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए।
तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएको भन्दै भन्सार जाँचपास नै अवरुद्ध गर्नु परेको भन्सार एजेन्ट महासंघको भनाइ छ।
भन्सार ऐनमा अव्यवहारिक व्यवस्थाहरू रहेको उसको दाबी छ। सर्भरमा देखिँदो निरन्तर समस्या र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलनअन्तर्गत पेनडाउन थालिएको भन्सार एजेन्ट संघ रूपन्देहीका अध्यक्ष मधु पन्थीले जानकारी गराए।
सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको कारण पेनडाउन गरिएको उनले बताए।
यसबीच, भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको छ।