इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेसँगै विश्व ऊर्जा बजारमा ठूलो हलचल ल्याएको छ र यसको सबैभन्दा ठूलो असर एसियामा पर्ने देखिएको छ।
इरानको रिभोल्युसनरी गार्डका एक वरिष्ठ कमाण्डरले सोमबार स्ट्रेट अफ हर्मुज बन्द गरिएको र त्यो समुन्द्री बाटो पार गर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनी दिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
ओमान र इरानबीच अवस्थित यो स्ट्रेट अफ हर्मुज विश्व तेल व्यापारको मुख्य मार्ग हो।
ऊर्जा परामर्शदाता संस्था केपलरका अनुसार सन् २०२५ मा दैनिक करिब १ करोड ३० लाख ब्यारेल तेल यो मार्गबाट ओसारपसार भएको थियो, जुन समुद्री मार्ग हुँदै हुने कच्चा तेल व्यापारको करिब ३१ प्रतिशत हो।
यदि यो मार्ग लामो समयसम्म बन्द रह्यो भने तेलको मूल्य अझै बढ्ने सम्भावना रहेको केही विश्लेषकहरूले प्रतिव्यारेल एक सय डलर नाघ्न सक्ने अनुमान गरेका छन्।
हाल कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ८० डल पुगेको छ। यो द्वन्द्व सुरू भएयता करिब १०प्रतिशतले वृद्धि भएको छ।
खाडीबाट आउने विश्वका करिब २० प्रतिशत प्राकृतिक ग्यास (एलएनजी) निर्यात पनि जोखिममा परेको छ। विशेषगरी कतारबाट हर्मुज मार्ग हुँदै पठाइने आपूर्तिमा प्रभाव परेको बताइएको छ।
विश्वकै प्रमुख एलएनजी निर्यातकर्ता कतारले इरानी ड्रोन आक्रमणपछि आफ्ना संरचनामा क्षति पुगेको कारण उत्पादन रोकिएको उल्लेख गरेको छ।
थाइल्याण्ड, भारत, दक्षिण कोरिया र फिलिपिन्स उच्च आयात निर्भरताका कारण सबैभन्दा बढी जोखिममा रेहको समाचारहरूमा उल्लेख गरिएको हो।
विश्लेषकहरूका अनुसार दक्षिण एसियाले विशेषगरी एलएनजी आपूर्तिमा धेरै अवरोध झेल्न सक्छ।
पाकिस्तानले आयात गर्ने एलएनजी मध्ये कतार र युएईबाट ९९ प्रतिशत, बंगलादेशले ७२ प्रतिशत र भारतले ५३ प्रतिशत आयात गर्छन्।
पाकिस्तान र बंगलादेशसँग सीमित भण्डारण क्षमताको कारण दबाबमा पर्ने बताइएको छ। पाकिस्तानले यो मार्ग अवरूद्ध भएमा वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने सम्भावना छ।
हर्मुज मार्ग १० १२ दिनसम्म अवरूद्ध भएमा पाकिस्तानले विकल्पको रूपमा रेड सि मार्गबाट आयात गर्ने बताइरहेको छ।
बंगलादेशमा हाल दैनिक एक अर्ब ३० करोड क्युबिक फिटभन्दा बढी ग्यास अभाव रहेको बताइएको छ।
यसरी प्रभाव पर्नेमध्ये भारतमा पनि पर्ने मानिएको छ। भारतको आधाभन्दा बढी एएिनजी आयात खाडी क्षेत्रबाट हुने गरेको छ।
त्यसैले कच्चा तेलको मूल्य वृद्धि हुँदा तेल र प्राकृतिक ग्यास दुबैको लागत एकैसाथ बढ्ने मानिएको छ।
भारतले मध्यपूर्वबाट करिब ६० प्रतिशत तेल आयात गर्छ।
लामो समयसम्म नाकाबन्दी भएमा आयात लागत र चालु खातामा थप दबाब पर्नेछ।
भारतले अहिले पनि रसियाबाट तेल आयात पूर्ण रूपमा बन्द गरेको छैन।
गत जनवरीमा भारतले रसियाबाट गरेको तेलको आयात सन् २०२२ यताकै न्यून भएको रोयटर्सले उल्लेख गरेको छ।
तर, फेब्रुअरीमा भने भारतले सबेभन्दा धेरै तेल आयात रसियाबाट गरेको र दास्रोमा साउदी अरेबियाबाट भएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ।
केही समयअघि अमेरिकासँगको सम्झौतामा भारतले रिसयाबाट तेल खरिद नगर्ने बताएको सञ्चारमाध्यमहरूमा खबर प्रकाशित भएको थियो।
अमेरिकाले विभिन्न मुलुकलाई लगाउँदै आएको व्यापार कर (ट्यारिफ) सम्बन्धमा भारतलाई भने राहत दिने गरि फेब्रुअरीको पहिलो साता सम्झौता भएको थियो।
हमुर्ज मार्गमा अवरोध आए अब पनि रसिया विकल्प हुन सक्ने त्यहाँका सञ्चारमाध्यमहरूले सरकारी अधिकारीहरूलाई उदृत गर्दै लेखेका छन्।
नेपाल पनि तेल आयताको लागि भारतमै निर्भर छ।
विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता चीनमा कतार र युएइबाट करिब ३० प्रतिशत प्राकृतिक ग्यास र हर्मुज मार्गबाट ४० प्रतिशत तेल ल्याउने समाचारहरूमा उल्लेख छ।
तर, पर्याप्त भण्डारणको कारण चीनलाई केही समयको यस्तो अवरोधले समस्या नपर्ने मानिएको छ।