नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्यमा लगाउने भनेको समताशुल्क नलगाउन माग गरेको छ।
आर्थिक विधेयक माथिको छलफलका क्रममा संयुक्त संशोधनकर्ताको तर्फबाट कांग्रेस सांसद नरेन्द्र केरूङले यस्तो माग गरेका हुन्।
उनले सरकारी अस्पताल र स्कुलले थेग्न नसकेको भार अहिले निजी अस्पताल र स्कुलले थेगेको भन्दै यस्तो कर लगाइनु नहुने बताएका हुन्।
यस्तो शुल्क अध्ययन अनुसन्धानभन्दा पनि अर्थमन्त्रीको सनकको भरमा लगाइने गरेको उनको भनाइ छ।
'शिक्षा स्वास्थ्यमा करमा उतारचढाव छ। यो अध्ययन अनुसन्धान गरेर लगाइएको छैन। अर्थमन्त्रीहरूको सननकको भरमा यस्तो शुल्क लगाउने गरिएको छ,' केरूङले भने, '२०६६ सालमा तत्कालीन अर्थमन्त्रीले ५ प्रतिशत यस्तो शुल्क उठाउने व्यवस्था गर्नु भएको थियो। त्यसपछिको अर्थमन्त्रीले १ मा झार्नु भयो र पछि हट्यो। अहिले ३ प्रतिशत लगाउने भनिएको छ। यो हटाइयोस्।'
उनले कर बक्यौताका विषयमा अदालतमा विचाराधिन मुद्दामा कर जरिवाना तथा अतिरिक्त शुल्क मिनाहा दिने व्यवस्था नगर्न समेत आग्रह गरेका छन्।