अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन्।
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत् उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे।
केही समय लागे पनि पेट्रोलियम पदार्थको मूल्य अब घट्नेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो।
उनले भने, ‘मध्यपूर्वमा जुन समस्या देखियो। यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ताभित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ। र अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब टाइम ल्याक त हुन्छ। क्रुड प्राइस त घटी नै सक्यो। तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीेले जुन आयात गर्ने गरेका छौँ। त्यो एड्जष्ट भएर नेपालमा आउन केही समय लाग्ला। तर मूल्य अब घट्नेवाला छ।’
अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबी समेत गरे। –न्युज एजेन्सी नेपाल