सरकारले साउन १ देखि दुईवटा दरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन सुरू गरेको छ।
विशेषगरी ५० युनिटभन्दा माथिको विद्युत महसुल र राइड सेयर प्रयोगकर्ताबाट ५ प्रतिशत भ्याट लिने व्यवस्था गरिएसँगै बहुदर लागू भएको हो। अन्य सबै भ्याट लाग्ने वस्तु तथा सेवामा १३ प्रतिशत भ्याटको व्यवस्था छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले र अर्थ मन्त्रालयका अधिकारीहरूले भने यसलाई बहुदरको भ्याट भन्न नमिल्ने तर्क गर्दै आएका छन्।
भ्याट अन्तिम उपभोक्ताले तिर्ने कर हो। बिक्रेता तथा उत्पादकले खरिदमा तिरेको भ्याट फिर्ता पाउँछन्। आफ्नो मूल्यवृद्धि जोडेर बिक्री गरेको आधारमा उठाएको भ्याट सरकारको खातामा जम्मा गरिदिन्छन्। जुन दरमा भ्याट लगाइन्छ, त्यही दरमा भ्याट फिर्ता गरिन्छ।
'भ्याटको आधारभूत सिद्धान्त नै क्रेडिट हो। क्रेडिट तथा रिफन्ड गर्ने भएकैले यो भ्याट भएको हो,' कर विज्ञ शेषमणि दाहालले भने।
तर नेपाल सरकारले भ्याट फिर्ता १३ प्रतिशतमा मात्रै गर्ने व्यवस्था गरेको छ। ५ प्रतिशत दरको भ्याटमा क्रेडिटको व्यवस्था नै नगरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।
यस अर्थमा सरकारले जहाँ ५ प्रतिशत भ्याट लगाएको छ, त्यहाँ भ्याट फिर्ताको व्यवस्था नै छैन। १३ प्रतिशत भ्याट लागेको क्षेत्रमा भने भ्याटमा दर्ता भएको अवस्थामा मात्रै भ्याट फिर्ताको व्यवस्था छ।
५० युनिटभन्दा माथि उपभोग गर्ने घरायसी प्रयोजनको विद्युतमा ५ प्रतिशत भ्याट लाग्नेछ। अन्य सबै प्रयोजनमा भने १३ प्रतिशत भ्याट लाग्नेछ।
'घरायसी प्रयोजनको हकमा सहुलियत दरमा ५ प्रतिशत भ्याट हो। तर औद्योगिक तथा कम्पनी प्रयोजनमा ५ प्रतिशत होइन,' आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलले भने, 'जसले विद्युत प्रयोग गरेर सेवा वा वस्तु बिक्री गर्छ र भ्याट फिर्ता खोज्छ, त्यहाँ १३ प्रतिशत भ्याट लाग्छ। त्यहीअनुसार नै फिर्ता हुन्छ।'
आर्थिक ऐनमार्फत विद्युत उत्पादन गरेर कारोबार गर्ने व्यवसायीलाई र घरायसी प्रयोजनमा प्रयोग हुने प्रतिग्राहक ५० युनिटसम्मको विद्युत बाहेकमा भ्याट लगाउने व्यवस्था गरिएको छ।
तर मूल्य अभिवृद्धि कर ऐन, २०५२ को संशोधनमार्फत अन्तिम उपभोक्तालाई विद्युत सेवा दिने व्यवसायीले लाग्ने मूल्यमा ५ प्रतिशतका दरले कर निर्धारण गरी असुलउपर गर्ने व्यवस्था गरिएको छ।
करका जानकारहरू अझै पनि सरकारले अन्तिम उपभोक्ता को हो भन्ने व्याख्या नगरेको बताउँछन्।
आन्तरिक राजस्व विभागका निर्देशक पौडेलले भने घरायसी प्रयोजन नै अन्तिम उपभोक्ता भएको बताए।
विद्युत खरिदको लागत जोडेर वस्तु वा सेवा उत्पादन गर्ने निकाय अन्तिम उपभोक्ता नहुने उनको भनाइ छ।
यस अर्थमा नेपाल विद्युत प्राधिकरण लगायत किनेर बिक्री गर्ने कम्पनीले बेच्ने विद्युतमा १३ र ५ प्रतिशत गरी दुई दरमा भ्याट लाग्नेछ।
घरायसी प्रयोजनमा ५ प्रतिशत भ्याट लागेको विद्युतमा भ्याट फिर्ताको व्यवस्था हुने छैन।
१३ प्रतिशत भ्याट लागेको क्षेत्रमा भने भ्याटमा दर्ता भएको अवस्थामा मात्रै खर्चमा भ्याट फिर्ता गर्न सकिनेछ।
त्यस्तै, राइड सेयर सेवामा पनि प्रयोगकर्ताले तिर्ने रकममा ५ प्रतिशत भ्याट लाग्नेछ।
तर राइड सेयर सेवा सञ्चालनका लागि खोलिएको कम्पनी र राइड सेयर कम्पनीले चालकबाट लिने शुल्कमा भने १३ प्रतिशत भ्याट लाग्नेछ।
१३ प्रतिशत भ्याट लागेको क्षेत्रमा भने खर्चमा भ्याट फिर्ता गर्न सकिन्छ।