सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न नेपाली सेनालाई जिम्मा दिने तयारी गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको चासोको आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयनमा नेपाली सेनाले कपडा उद्योगको परीक्षणको लागि काम आरम्भ गरेको उद्योग मन्त्रालय स्रोतले जानकारी दिएको छ।
त्यस्तै उद्योग मन्त्रालेको सिफारिसको आधारमा अर्थमन्त्रालयले तत्कालको लागि नेपाली सेनालाई ३३ लाख रूपैयाँ बजेट निकासा गरेको अर्थमन्त्रालयका अधिकारीहरूले पुष्टि गरेको छन्।
सरकारले पछिल्लो समय रुग्ण सरकारी आयोजनाको सञ्चालन मोडालिटी तयार गर्न ७ वटाको सम्पत्ति तथा दायित्व मूल्यांकन गर्ने निर्णय गरेको थियो। त्यसमध्ये ४ वटाको मूल्यांकन पनि गरिएको छ।
तर यस्तो मूल्यांकन नै नगरिएको हेटौंडा कपडा उद्योगको सवालमा भने सेनाले काम अघि बढाएको हो।
तत्कालको लागि यस उद्योगको परीक्षण उत्पादन नेपाली सेनाले गर्ने भएको उद्योग मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सेनाले तत्कालको लागि आफूलाई चाहिने कपडा यो उद्योगबाट आफैं उत्पादन गर्न सक्ने ब्रिफिङ गरेको उद्योग मन्त्रालयक अधिकारीहरूले बताएका छन्।
यसअघि २०८० सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा नेपाली सेनाले ९ वर्षमा नाफामा लैजाने गरी करिब २ अर्ब रूपैयाँ बजेटको माग गरेको थियो।
वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याएको थियो। उक्त उद्योग २०५९ सालबाट पूर्ण रूपमा बन्द भएको थियो।
२०८० माघमा नेपाली सेनाले उद्योग सञ्चालनको सम्भाव्यता अध्ययनअध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो।
प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिन मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको उल्लेख छ।
उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको बताइएको थियो।
उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको प्रतिवेदनमा उल्लेख छ।