गत जेठ १५ गतेदेखि वस्तु आयातमा सुरू गरिएको दुई नयाँ शुल्कको कारण भन्सार विभागले ७० करोड बढी रकम संकलन गरेको छ।
जेठ १५ गतेदेखि लागु हुनेगरी आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क (डिपिएफ) र स्वच्छ पूर्वाधार लगानी शुल्क लागु गरिएको थियो।
विगतमा यी शीर्षकका शुल्क थिएनन्।
जेठ १५ देखि असार मसान्तसम्मको अवधिमा स्वच्छ पूर्वाधार शुल्क ४८ करोड २३ लाख रूपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ।
त्यस्तै, आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क २० करोड ७५ लाख रूपैयाँ बढी संकलन भएको छ।
सरकारले चालु वर्ष ७ अर्ब स्वच्छ पूर्वाधार शुल्क संकलन गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, २ अर्ब रूपैयाँ आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क संकलन गर्ने लक्ष्य राखेको छ।
कृषि सामग्री, दुग्धजन्य उत्पादन तथा केही घरायसी वस्तुमा अन्तःशुल्क हटाएर डिपिएफ लगाइएको छ।
विद्युतीय सवारी साधनमा अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लागु गरिएको छ।
केही विद्युतीय सवारी साधनमा यो शुल्क पहिलेको अन्तःशुल्कभन्दा धेरै छ।
टेलिभिजन, मोबाइल, फ्रिज, वासिङ मेसिनलगायत केही घरायसी वस्तुमा पनि यो शुल्क लगाइएको छ।