मलेसियाले श्रमिकको न्यूनतम मासिक तलब २ हजार रिंगिट अर्थात् (७५ हजार नेपाली रूपैयाँ बराबर) पुर्याउने घोषणा गरेको छ।
सन् २०२७ जुनदेखि लागू हुने यो निर्णयबाट नेपालीसहित ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुन उल्लेख गरेको छ।
मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार सन् २०२७ को बजेट प्रस्तुत गर्दै न्यूनतम तलब बढाउने घोषणा गरेका हुन्।
हाल मलेसियामा न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिट छ। नयाँ व्यवस्था लागू भएपछि न्यूनतम तलबमा ३ सय रिंगिट वृद्धि हुनेछ।
नयाँ तलबले मलेसियामा कार्यरत नेपालीसहित विदेशी श्रमिकको आम्दानीसमेत बढाउने अपेक्षा गरिएको छ।
मलेसियाको न्यूनतम तलबसम्बन्धी व्यवस्था निजी क्षेत्रका विदेशी श्रमिकमा समेत लागू हुन्छ।
तर, घरेलु कामदारलगायत केही श्रेणीका श्रमिकमा भने अपवाद छन्।
मलेसियाले साना तथा मझौला उद्यमलाई नयाँ तलब कार्यान्वयनका लागि समय दिन छुट दिने भएको छ।
वार्षिक आम्दानी ५ करोड रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमलाई नयाँ न्यूनतम तलबको व्यवस्थाबाट छुट दिइने घोषणा गरिएको छ।
सरकारले श्रमिकको आम्दानी बढाउने र जीवनयापनको खर्च धान्न सहज बनाउने उद्देश्यले तलब वृद्धि गर्न लागेको जनाएको छ।
बजेटमार्फत अर्धदक्ष श्रमिक तथा स्नातक तह पूरा गरेका व्यक्तिका लागि सुरुआती न्यूनतम मासिक तलब २ हजार ५ सय रिंगिट निर्धारण गर्ने पनि घोषणा गरिएको छ।
मलेसियाको यो निर्णयले न्यूनतम तलबका आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि उक्त मुलुकको आकर्षण थप बढाउन सक्ने देखिन्छ।
विशेषगरी अदक्ष श्रमिकले पाउने तलबका हिसाबले मलेसिया नेपाली श्रमिकका लागि महत्वपूर्ण गन्तव्य हो।