दसैंमा नास्ता वा खाजाका निम्ति के खाने भन्ने लागिरहेको हुन सक्छ।
यस्तोमा एउटा विकल्प साँधेको मासु हुन सक्छ।
आज हामीले कुखुराको साँधेको मासु कसरी बनाउने विधि यहाँ राखेका छौं।
आवश्यक सामग्री
- बोनलेस (हड्डी नभएको) कुखुराको मासु– १ केजी
- बेसार – १ चिम्टी
- धूलो खुर्सानी – २/३ चम्चा वा आवश्यकता अनुसार
- प्याज – एक वटा
- पिसेको लसुन – दुई चम्चा
- मेथी – आधा चम्चा
- हरियो लसुन– चार बोट
- हरियो धनियाँ – आवश्यकता अनुसार
- पिसेको अदुवा– आधा चम्चा
- टिम्मुर – १५ दाना
- नुन – स्वादअनुसार
- कागती –एक वटा
- तेल – एकदेखि दुई सय मिलिलिटर
बनाउने विधि
- एउटा भाँडामा कुखुराको मासु राम्ररी उसिन्ने।
- मासु उसिनेपछि झिकेर सेलाउने।
- कुखुराको मासु रेसादार हुन्छ। अब सेलाएको मासु झिकेर मसिनो टुक्रा हुने गरेर रेसारेसा छुट्ट्याउने।
- यसरी तयार भएको मासुमा अब पिसेको अदुवा, लसुन, धूलो खुसार्नी, नुन, पिसेको टिम्मुर, नुन, काटेको हरियो धनियाँ, हरियो लसुन र प्याज हाल्ने।
- अब सानो दिउरीमा तेल हल्का तताउने।
- तेल तातेपछि मेथी हाल्ने।
- मेथी खैरो भएपछि दिउरी झिक्ने र त्यसमा बेसार हाल्ने। यसलाई अघि मोल्न तयार राखिएको मासुमा हालेर झान्ने।
- अब निचोरेको कागती हालेर मोल्ने।
यो विधिले तयार पारेको साँधेको मासु तत्काल खान उपयोगी हुन्छ। चिउरासँग खान वा सितनको रूपमा यस्तो मासु प्रयोग गर्न सकिन्छ।
साँधेको कुखुरा मासुमा तपाईंले रूचिअनुसार बन्दा, ब्रोकाउली, गाजर पनि काटेर मिसाउन सक्नुहुन्छ।