संसारकै धनी इलन मस्कको इन्टरनेट सेवाप्रदायक स्टारलिंकले केही समयदेखि नेपाल आउने चाहना राखे पनि कम्पनीको आफ्नै अडानले सम्भव हुन सकिरहेको छैन।
स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवाप्रदायक स्टारलिंककी निर्देशक रेबिका हन्टरले केही दिनअघि मात्र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई भेटेर नेपाल आउन चाहेको इच्छा व्यक्त गरेकी थिइन्।
आफ्नो शतप्रतिशत लगानी रहने गरी मात्र यहाँ आउन चाहेको हन्टरले बताएपछि कम्पनीको नेपाल भित्रिने सम्भावना कम भएको अधिकारीहरू बताउँछन्।
नेपालले लगभग सबैजसो क्षेत्रमा वैदेशिक लगानी खुला गरेको छ। हातहतियार, मुद्रा छपाइ, घरजग्गा जस्ता केही २१ शीर्षकमा भने वैदेशिक लगानी वर्जित गरेको छ।
त्यस्तै, हवाई सेवा, दूरसञ्चार सेवा, परामर्श सेवा जस्ता क्षेत्रमा ५० देखि ८० प्रतिशतसम्म मात्रै वैदेशिक लगानी गर्न सकिने व्यवस्था छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार नीति २०६० ले नै यस्तो व्यवस्था गरेकोबारे हन्टरलाई जानकारी गराएको मन्त्रालय स्रोतले बतायो।
हुन त ऐनले निर्देशित नगरेको अवस्थामा नीतिहरू परिमार्जन गर्न नसकिने होइन। तर नेपालले मुलुकभित्रै उत्पादन र सेवा निर्यात गर्न नमिल्ने यस्ता कतिपय क्षेत्रमा सीमा तोक्नुको विभिन्न उद्देश्य छन्। खासगरी शतप्रतिशत विदेशी लगानी खुला गर्दा उत्पादनको सम्पूर्ण उपभोग मुलुकभित्रै हुने र सबै नाफा रकम विदेश जाने भएकाले पनि यस्तो नीति लिइएको हो।
टेलिकम वा इन्टरनेट सेवामा पनि हुने यही हो। यही कारण दूरसञ्चार सेवामा बढीमा ८० प्रतिशतसम्म मात्रै वैदेशिक लगानी गर्न सकिने व्यवस्था गरिएको अधिकारीहरू बताउँछन्।
बाँकी २० प्रतिशतमा भने स्वदेशी लगानीकर्ता वा साझेदार हुनुपर्छ। स्टारलिंकले भने नेपालमा शतप्रतिशत वैदेशिक लगानी गर्न खोजिरहेका कारण प्रक्रिया अगाडि बढ्न नसकिरहेको हो।
मन्त्री तिमिल्सिनासँगको भेटमा स्टारलिंककी निर्देशक रेबिका हन्टरले व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवाप्रदायकसँग छलफल गरिरहेको समेत बताएकी थिइन्।
स्टारलिंकले यसअघि पनि नेपालमा सेवा सञ्चालन गर्न चाहेको थियो। २०८१ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद नै गरेको थियो।
भारतमा पनि स्टारलिंकले लामो समयको प्रयासपछि करिब एकवर्ष (२०२५ जुलाई) अघि सञ्चालन अनुमति पाएको थियो।
रोयर्टस लगायतका सञ्चारमाध्यमका अनुसार कम्पनीले त्यहाँका भारती एयरटेल, रिलायन्स जिओसँग पनि सहकार्य गरेको छ।
हाल स्टारलिंक एक सयभन्दा बढी मुलुकमा उपलब्ध छ।
स्याटलाइट प्रविधिबाट इन्टरनेट उपलब्ध हुने भएकोले स्टारलिंक नेपाल भित्रिए दूरदराजमा पनि इन्टरनेटको सहज पहुँच पुग्ने मानिएको छ। तर यो अहिले फाइबर अप्टिकल केबलबाट उपलब्ध भइरहेको इन्टरनेट शुल्कको तुलनामा महंगो हुने मानिएको छ।
हाल स्टारलिंकको १० हजारभन्दा बढी स्याटलाइट रहेको बताइन्छ।