काठमाडौंको डियरवाक कम्प्लेक्समा आयोजित प्रविधि प्रतिस्पर्धा 'डियरह्याक २०२६' को चौथो संस्करण यसै साता सम्पन्न भएको छ।
डिडब्लुआइटी सफ्टवेयर क्लबद्वारा आयोजित तीनदिने उक्त कार्यक्रममा नेपाल र भारतका प्रतिभाशाली युवा प्रविधिप्रेमी तथा नवप्रवर्तकहरूलाई एउटै थलोमा सहभागी गराइएको थियो।
कार्यक्रम संयोजकद्वय दृश्य कार्की र श्रेयांश पोखरेलका अनुसार, युवा प्रतिभाहरूमाझ नवप्रवर्तन (इनोभेसन) लाई प्रोत्साहन गर्ने र उनीहरूको सोचलाई व्यावसायिक तथा व्यावहारिक समाधानमा बदल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
सन् २०२३ मा सुरू भएको डियरह्याक चौथो वर्षमा आइपुग्दा दक्षिण एसियाकै विकासकर्ता (डेभलपर्स), डिजाइनर, उद्यमी र समस्या समाधानकर्ताहरूको बलियो मञ्च बन्न सफल भएको आयोजकहरूले बताएका छन्।
यस वर्षको संस्करणमा छानिएका १७ वटा टोलीले लगातार ४८ घन्टासम्म खटेर विभिन्न प्रविधि प्रयोग गरी प्रोजेक्टहरू निर्माण गरेका थिए। सहभागीहरूले मुख्य गरी चारवटा फरक विधामा प्रतिस्पर्धा गरेका थिए - आर्टिफिसियल इन्टेलिजेन्स, वातावरण, इन्टरएक्टिभ टेक्नोलोजी र ब्लकचेन।
कार्यक्रम अवधिभर सहभागीहरूले प्रविधि क्षेत्रका दिग्गज र अनुभवीहरूबाट मेन्टरसिप तथा कार्यशालामार्फत आफ्ना अवधारणालाई परिमार्जन गर्ने अवसर पाएका थिए।
प्रतियोगितामा 'टिम प्रफिट.एक्सई' (Team Profit.exe) डियरह्याक २०२६ को 'ग्र्यान्ड विनर' (मुख्य विजेता) बन्न सफल भयो। उत्कृष्ट प्राविधिक कार्यक्षमता र समाजमा पार्ने सकारात्मक प्रभावका आधारमा दीपा खनाल, दिपेश सिंह, साजन साही कर्मी र मणिदास श्रेष्ठको टोलीले यो उपाधि जितेको हो।
यस वर्षको कार्यक्रमको मूल नारा 'वातावरणीय दिगोपना' लाई आत्मसात् गर्दै पहिलो पटक वातावरण विधा समावेश गरिएको थियो। प्रविधिको माध्यमबाट जलवायु परिवर्तन र वातावरणीय चुनौतीको समाधान खोज्ने यस विधाको उपाधि भारतको पुणेस्थित जिएच रायसोनी विश्वविद्यालयको 'टिम गगिन्स' (Team Goggins) ले हात पार्यो।
उक्त टोलीमा आर्य मनोज मिश्रा, मानसी दुबे, गोपाल परिक र अद्वैत झा थिए।
यो केवल कोडिङ र प्रविधिको प्रतिस्पर्धा मात्र थिएन। प्रतिस्पर्धीहरूबीचको तनाव कम गर्न र भ्रातृत्व बढाउन आयोजकले लाइभ म्युजिक, फुटसल तथा ब्याडमिन्टन जस्ता खेलकुद र विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गरेका थिए।

-1781776321.jpeg)


-1781776321.jpeg)
