पुसयता मात्रै चाँदीको मूल्य तोलामा करिब तीन हजारले बढ्यो।
पुस १ गते तोलाको तीन हजार आठ सय ८५ मा किनबेच भइरहेको चाँदी मंगलबार ६ हजार आठ सय ७० रूपैयाँ पुगेको छ। यो भनेको ७६.८३ प्रतिशतको वृद्धि हो।
मूल्य बढिरहँदा घरेलु बजारमा चाँदी अभाव भएको छ।
माग बढेको र सोही अनुसार आयात नभएकोले बजारमा चाँदीको अभाव देखिएको व्यवसायीहरू बताउँछन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, 'निजी व्यवसायी र बैंक दुवैले चाँदी आयात गर्न पाउँछन्, तर अहिले कसैले पनि चाँदी आयात गरिरहेका छैनन्।'
नेपाल राष्ट्र बैंकले गत भदौमा मात्रै औद्योगिक प्रयोजनको लागि ल्याउन पाउने चाँदीको सीमा बढाएको थियो।
कच्चा पदार्थको रूपमा औद्योगिक प्रयोजनको चाँदी ल्याउन एक पटकमा पाँच लाख डलर बराबरको सटही सुविधा व्यवसायीहरूले पाउने व्यवस्था गरेको छ।
यसअघि यस्तो सुविधा तीन लाख रूपैयाँ थियो।
त्यस्तै, अन्य सुन चाँदी व्यवसायीले पनि एक पटकमा एक लाख डलरको सटही सुविधा पाउने व्यवस्था छ।
मूल्य अस्थिर रहने गरेकोले व्यवसायीहरूले आफैले भने चाँदी आयात गर्न चाहिरहेका छैनन्।
शाक्य भन्छन्, 'नेपालमा हुने चाँदीको माग अन्यको तुलनामा कम छ यसले पनि व्यवसायीहरू आफैले ल्याउन गाह्रो छ, त्यसबाहेक यसको मूल्यमा उच्च उतारचढाव छ, जोखिम धेरै हुने भएकोले पनि व्यवसायीहरूले ल्याउन सकिरहेका छैनन्।'
अहिले विश्व बजारमा सोलार, आइटी क्षेत्रमा औद्योगिक प्रयोजनको लागि चाँदीको माग उच्च छ। लगानी उपकरणका रूपमा समेत यसको माग छ।
मूल्य थप बढ्ने प्रक्षेपण भइरहँदा नेपालमा समेत यसको माग बढिरहेको हो।
'अहिले मुद्दती निक्षेपको ब्याजदरमा बाँच्नुपर्ने जमातलाई समस्या छ,' शाक्यले थपे,' लगानीको विकल्प अरू छैन, ब्याजदर घटेको छ, त्यसैले पनि चाँदीमा मानिसहरू आकर्षित भएका हुन्।'
अन्तर्राष्ट्रिय बजारमा हुने माग र आपूर्तिको आधारमा त्यही निर्धारण हुने मूल्यबाट नै नेपालमा पनि सुनचाँदीको भाउ तोकिन्छ।
यहाँको मागले असर गर्दैन। तर, अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको भाउ बढिरहेकोले यहाँ पनि माग बढेको हो।
अहिले चाँदीका गरगहना, भाँडाकुँडाको नभई चाँदीका दानाको माग बढेको व्यवसायीहरू बताउँछन्।
पहिले लगानीको लागि सर्वसाधारणले चाँदीका मुद्रा वा ढिका किन्ने गरिरहेका थिए।
अहिले भने बजारमा चाँदीका ढिका नपाइने र थोरै परिमाणमा पनि किनबेच गर्न सक्ने भएकोले यस्ता दानाको किनबेच बढी हुने गरेको छ।
अहिले अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस एक सय ११ डलरसम्मका कारोबार भइरहेको छ।
धेरैले यो मूल्य दुई सय डलरसम्म पुग्ने अनुमान गरिरहेका छन्। तर, चाँदीको मूल्यमा उच्च उतारचढाव रहेकोले जोखिम धेरै हुने र यसले धेरै नेपाली समस्यामा पर्न सक्ने व्यवसायीहरू बताउँछन्।
अहिले बजारमा चलनचल्तीको मूल्यभन्दा तोलामा एक दुई सय बढी तिरेर समेत किनबेच भइरहेको उनीहरूको भनाइ छ।
त्यस्तै, मूल्य उच्चले बढिरहेपछि सुनको मागमा भने कमी आएको छ। अनौपचारिक कारोबारमा सुनको ढिका प्रयोग हुने गरेको र यस्तो ढिकाको माग भने अहिले पनि रहेको व्यवसायी शाक्य उल्लेख गर्छन्।
सुनका गरगहनाको कारोबार घटेको र बिक्री गर्न आउनेहरू नै बढेको उनी बताउँछन्।
हाल बैंकहरूमा भने सुनको पर्याप्त मौज्दात रहेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा बताउँछन्।
उनका अनुसार गत आइतबारसम्म बैंकहरूमा एक सय ३० केजी सुनको मौज्दात रहेको छ।