स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलाको २० हजार रूपैयाँ बढेको छ।
बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रूपैयाँमा बिक्री गरिएको सुन बिहीबारका लागि तीन लाख ३९ हजार ३०० रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय गरिएको मूल्य निर्धारण र नेपालको भन्सार सहितको लागत निर्धारण गरेर हरेक दिन सुनको मूल्य तोक्ने काम गर्छ।
स्थानीय बजारमा बुधबार पनि प्रतितोला साढे नौ हजार रूपैयाँले बढेको थियो। माघ लागेपछि मात्रै १५ दिनको अवधिमा सुनको मूल्य तोलाकै ६१ हजार रूपैयाँले बढेको छ। पुस ३० गते स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार रूपैयाँ थियो।
बिहीबार एकैदिन २० हजार रूपैयाँले मूल्य बढ्नुको कारण के हो? व्यवसायीहरूलाई के लाग्छ? हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यलाई प्रश्न गरेका छौँ।
‘सुनको मूल्य वृद्धिदर भन्सार बढाउँदाको अवस्थामा बाहेक स्थानीय कारण रहँदैन। अहिले पनि अन्तर्राष्ट्रिय बजारमा बढेको कारण नै यति धेरै बढेको हो,’ उनले भने।
समग्रमा यसरी लगातार सुनको मूल्य बढ्नुको कारण अन्य अन्तर्राष्ट्रिय मुद्राको तुलनामा डलर कमजोर हुने विश्लेषण भएको उनको बुझाइ छ।
किन डलर कमजोर बन्छ? यही कारण किन सुनको मूल्य बढेको छ? बज्राचार्यले ६ वटा कारण रहेको बताएका छन्।
यस्ता छन् बज्राचार्यले देखेका ६ कारण
एक- युद्ध र राजनीतिक तनाव
इरानमाथि आक्रमण गर्न अमेरिकाले लडाकु जहाजहरू पठाएको समाचार छन्। यसले गर्दा खाडी क्षेत्रका अन्य देशहरू (कतार, साउदी अरेबिया, युएई आदि) मा पनि युद्ध फैलन सक्ने त्रास बढेको छ।
दुई- विश्वयुद्धको डर र अस्थिरता
यदि इरानसँगको युद्धमा चीन र रूसले पनि साथ दिएमा विश्वयुद्ध हुन सक्ने र यसले विश्व बजारमा चरम अस्थिरता पैदा गर्ने सम्भावनाले गर्दा मानिसहरूले सुरक्षित लगानीको रूपमा सुनमा चासो देखाएका छन्।
तीन- नयाँ व्यापारिक सम्झौताहरू
क्यानडा र बेलायतका प्रधानमन्त्रीहरूले चीन भ्रमण गरी व्यापारिक सम्झौता गर्नु र युरोपियन युनियनले भारतसँग व्यापारिक सम्झौता गर्नुले विश्वको आर्थिक शक्ति सन्तुलनमा परिवर्तन ल्याएको छ।
चार- अमेरिकी डलरको अवमूल्यन
विभिन्न देशहरूबीचको नयाँ सम्बन्ध र व्यापारिक टकराव (जस्तै: क्यानडामाथि अमेरिकाले ट्यारिफ लगाउने घोषणा) का कारण डलरको मूल्य र यसप्रतिको निर्भरता घट्दै गइरहेको छ।
पाँच- केन्द्रीय बैंकहरूले सुन सञ्चित गर्नु
विश्वका विभिन्न देशका रिजर्भ बैंकहरूले डलर बेचेर सुन खरिद गर्न थालेका छन्। उदाहरणका लागि, भारतीय रिजर्भ बैंकले आफ्नो डलर मौज्दातको ठूलो हिस्साबाट सुन किनेको छ भने चीनले पनि एकैपटक १४०० टन सुन उठाएको छ।
छ- डलरको विकल्प खोज्ने रणनीति
चीनले आफ्नो मुद्रा (युआन) लाई बलियो बनाउने र ‘ब्रिक्स’ जस्ता नयाँ मुद्रा चलाउने रणनीति बनाएको छ, जसले गर्दा डलरको सट्टा सुनमा लगानी बढेको छ।