राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुर महादेवटार सुरूङ (३.३९९ मिटर) को बुधबार ‘ब्रैक थ्रु’ गरिएको छ।
उक्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ’, राष्ट्रपतिले भने।
राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरूङ, पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना क्रियाशील रहेको र काठमाडौँ उपत्यकालाई तराई-मधेससँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उनले बताए।
‘यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुने नै छ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु’, उनले भने।