ह्यारी पोटर किताबको पहिलो संस्करण झन्डै एक करोडमा बिक्री भएको छ।
मंगलबार बेलायती 'ह्यान्सन्स स्टाफर्डशायर लाइब्रेरी' मा 'ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन' किताबको पहिलो संस्करण लिलामीमा राखिएको थियो। बिबिसीका अनुसार यो किताब ६० हजार पाउन्डमा बिक्री भएको हो। किताबको प्रारम्भिक मूल्य करिब ४६ लाख तोकिएको थियो।
लिलामीकर्ता जिम स्पेन्सरका अनुसार अन्य शुल्क जोडेपछि यो किताब करिब १ करोड १५ लाखमा बिक्री भएको हो। यो मूल्यमा किताब बिक्नु निकै आश्चर्यजनक मानिएको छ।
'ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन' पहिलो संस्करणको किताब दुर्लभ मानिन्छ। हार्डकपीमा यो जम्मा ५०० प्रतिलिपी प्रकाशन गरिएको थियो। ती ५०० प्रतिलिपीमध्यको यो किताब लक्जमबर्गका एक अवकाशप्राप्त ब्रिटिश आप्रवासीले बेचेका हुन्।
नाम खुलाउन नचाहेका विक्रेताका अनुसार उनले यो किताब आफ्नो बच्चाहरूका लागि सन् १९९७ जुनमा किनेका थिए। अर्थात् किताब प्रकाशन भएको १८ महिनापछि। त्यही किताब अहिले धेरै मूल्यमा बिक्री हुँदा निकै खुसी भएको उनले बिबिसीलाई बताएका छन्।
'बच्चाहरुका लागि साहित्य हिसाबले ह्यारी पोटर वास्तवमै प्रतिष्ठित छ। र, यो पहिलो संस्करणले भविष्यमा निकै महत्व बोक्नेछ,' उनका भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ। विक्रेताका अनुसार किताब बिक्रीबाट आएको रकम उनले आफ्नी छोरीलाई पढाउँदा लागेको ऋण तिर्नेछन्।
हान्सन्स लाइब्रेरीका अनुसार अन्तिम बोलपत्र एक निजी अन्तर्राष्ट्रिय खरिददारबाट प्राप्त भएको हो, जसले फोनमार्फत लिलामी रकम तोकेका हुन्।