बाराको कैलाश धारा तेल उद्योग सिल गरिएको छ। उत्पादित तेल गुणस्तरहीन रहेको भन्दै उद्योग सिल गरिएको हो।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अम्लेखगंजमा रहेको उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रशासन कार्यालयले संयुक्त रूपमा गरेको अनुगमनको क्रममा उद्योगले उत्पादन गरेको ‘त्रिदेव’ ब्रान्ड नामको तेल गुणस्तरहीन देखिएकाले उद्योग सिल गरी तेल विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो।
सर्वसाधारणले तेलबारे गरेका गुनासोको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुर, उपभोक्ता हित संरक्षण मञ्च र स्थानीय प्रशासनको रोहबरमा तेल मिलमा अनुगमन गरिएको हो।
अनुगमन गर्दा तोरीको तेल भनेर अखाद्य, मिसावटयुक्त र दुर्गन्ध भएको तेल विक्री गरेको भेटिएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय नवलपरासीले केही दिनअघि उक्त कम्पनीको ७ सय कार्टुन तेल नष्ट गरेको थियो।
रौतहटका अशोक कुमार यादव सञ्चालक रहेको सो तेल उद्योगमा ४ सय २७ कार्टुन प्याकिङ तेल, बाहिर पार्किङमा गरी राखिएको पेट्रोलियम ट्यांकर, अन्य प्याकिङ गर्न बाँकी सयौं लिटर तेल बरामद भएको छ।
झण्डै ४ वर्षदेखि सञ्चालनमा रहेको उद्योगले तोरीको भनी मिसावटयुक्त अखाद्य तेल विक्री गर्दै आएको प्रशासनको भनाइ छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालयका प्रमुख विजय खनालले अखाद्य तेल बेच्नेलाई नमूना परीक्षण प्रतिवेदनका आधारमा तत्कालै कारबाहीको दायरामा ल्याउने बताए।