पर्यटन व्यवसायीहरूले सबै किसिमका पर्यटन गतिविधिलाई निर्वाध रूपमा सुचारु गर्न दिन सरकारसँग माग गरेका छन्।
पर्यटन व्यवसायीहरूका सबै छातासंगठनहरूले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सेफ्टि पोर्टोकलको आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन्।
देशमा सभा, विरोध, जुलुस लगायतका कार्यक्रमहरू दैनिक रूपमा भइरहँदा कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा जोखिम हुने कुरालाई नमान्ने पर्यटन व्यवसायीहरूले बताएका छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले देशमा दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम हुँदैन भने विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिँदा पनि कोभिड संक्रमणको जोखिम नहुने बताए।
पिसिआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्वाध घुम्न दिनुपर्ने उनले बताए।
यस्तै पिसिआर नेगेटिभ आएका पर्यटकलाई पाँच दिनको क्वारेन्टाइन हटाउन र ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेर आउनुपर्ने लागायतका मापदण्डलाई खारेज गर्न उनले माग गरे।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीहरूले पटक/पटक आफ्ना मागहरू सरकारसँग राख्दा समेत सरकारले सुनुवाइ नगरेको बताए।
७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरूलाई अनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान हटाइनुपर्ने, अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरूबाट भिसाको व्यवस्था पूर्ववत् रूपमा सुचारू हुनुपर्ने, विमानस्थलमा कोभिड जाँच मेसिन राखेर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने, कोभिडविरूद्धको खोप अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरूलाई पनि उपलब्ध गराउनुपर्ने उनले माग गरे।
यस्तै, नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्नुपर्ने, भारत र चीन तर्फको सीमानाबाट भित्रिने सवारीसाधनहरूलाई निर्वाध रूपमा आउन पाउनुपर्ने र कोभिड खोप लगाएर घुम्न आएका सबै पर्यटकलाई निर्वाध रूपमा घुम्न दिनुपर्ने माग रहेको उनले बताए।
पर्यटन व्यवसायीहरूले कोभिडबाट सबभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रका पर्यटन व्यवसायीहरूले अहिलेसम्म पुनर्कर्जा कोषको सुविधा लिन नपाएको गुनासो समेत गरेका छन्।
सरकारले राहतको रूपमा कोष निर्माण गरेपनि पहुँच हुनेहरूले मात्रै सुविधा पाएको तर साना पर्यटन व्यवसायीहरूले अहिलेसम्म कुनै सुविधा पाउन नसकेको पर्यटन व्यवसायीहरूले बताएका छन्।