ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्यको औपचारिक घोषणा गरेको छ।
उक्त घोषणा काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित 'कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू' विषयक निरन्तर चिकित्सा शिक्षा कार्यक्रममा गरिएको हो।
यस रणनीतिक सहकार्यको मुख्य उद्देश्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीका लागि व्यवस्थित र समन्वित रेफरल प्रणाली विकास गर्नु तथा उपचारअघि र उपचारपछिको निरन्तर र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु रहेको छ।
कार्यक्रममा नेपाल तथा भारतका ख्यातिप्राप्त कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, न्यून शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीनतम अभ्यासहरूबारे आफ्ना अनुभव, अनुसन्धान तथा ज्ञान आदानप्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतबाट सहभागी हुनुभएका कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभागका अध्यक्ष एवं प्रमुख डा. रजनीश मल्होत्रा तथा थोरेसिक सर्जरी विभागका निर्देशक डा. शैवाल खण्डेलवाललगायत विशिष्ट विशेषज्ञ चिकित्सकहरूको हार्दिक स्वागत गरे।
उनले नेपालमा आधुनिक स्वास्थ्य सेवा तथा विशेषगरी मुटुरोग र कार्डियोथोरेसिक शल्यचिकित्साको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका डा. भगवान कोइराला, डा. प्रकाश सायमी, डा. रञ्जन सापकोटा तथा डा. ज्योतिन्द्र शर्मासहित ह्याम्स अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय योगदानको उच्च प्रशंसा गरे।
यस अवसरमा अध्यक्ष आर. एस. भण्डारीले भने, 'म्याक्स हेल्थकेयरसँगको यस रणनीतिक सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास लिएका छौं। यस सहकार्यमार्फत उपचारपूर्व विशेषज्ञ परामर्शदेखि उपचार समन्वय तथा उपचारपछिको निरन्तर फलो–अप सेवासम्मको संरचित स्वास्थ्य सेवा प्रणाली विकास हुनेछ। हाम्रो लक्ष्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय, सहज, सुरक्षित तथा बिरामीकेन्द्रित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।'
यस रणनीतिक सहकार्यअन्तर्गत विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीहरूले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, उपचार व्यवस्थापन तथा उपचारपश्चात नेपालमै निरन्तर फलो–अप सेवासहित एकीकृत र समन्वित स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।
ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।
अस्पतालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय, सुरक्षित तथा बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई यस रणनीतिक सहकार्यले अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।