कुनै समस्या देखेर त्यसको समाधान आफै खोज्नुपर्यो भने कहाँबाट सुरू गर्ने? समस्या वास्तवमै के हो भनेर कसरी बुझ्ने? प्रयोगकर्तालाई के चाहिएको छ भनेर कसरी थाहा पाउने? आफूले सोचेको समाधान सही छ कि छैन भनेर कसरी परीक्षण गर्ने?
यिनै प्रश्नको व्यावहारिक अभ्यास गराउने कार्यक्रम हो 'इम्प्याक्ट विक'।
डिजाइन थिंकिङको प्रक्रियामार्फत विद्यार्थीलाई चुनौतीमा काम गराउँदै समस्या पहिचान गर्न, विभिन्न दृष्टिकोण बुझ्न र सम्भावित समाधान विकास गर्न सिकाउने उद्देश्यले इम्प्याक्ट विक नेपाल २०२६ आयोजना गरिएको थियो।
किङ्स कलेजमा अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म सञ्चालन भएको कार्यक्रममा देशभरका विभिन्न स्थानबाट आएका १०८ जना विद्यार्थी सहभागी थिए।
कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालका अनुसार उनीहरूले दिगो ऊर्जा, स्मार्ट मोबिलिटी, स्वास्थ्य तथा कल्याण, नेपालमा बसाइँसराइ र स्वतन्त्र जीवनयापन गरी पाँचवटा विषयमा आधारित चुनौतीमा काम गरेका थिए।
'कार्यक्रमको विशेषता विद्यार्थीलाई तयार समाधान दिनु थिएन। उनीहरूले पहिले समस्या बुझ्ने, त्यससँग सम्बन्धित मानिसका आवश्यकता र अनुभव पहिचान गर्ने, सम्भावित समाधानका विभिन्न विचार निकाल्ने र त्यसलाई परीक्षण गर्ने अभ्यास गरेका थिए,' उनले भने।
इम्प्याक्ट विकमा विद्यार्थीले कुनै समस्यालाई पहिलो नजरमै सही ठानेर समाधान खोज्दैनन्। उनीहरूले प्रश्न गर्छन्, सम्बन्धित मानिससँग कुरा गर्छन् र आफ्नो प्रारम्भिक धारणालाई परीक्षण गर्छन्।
त्यसपछि उपयुक्त विचार छनोट गरी त्यसको प्रारम्भिक नमुना अर्थात् प्रोटोटाइप तयार गर्छन्। प्रयोगकर्ताबाट प्राप्त प्रतिक्रियाका आधारमा त्यसमा सुधार गर्दै समाधानलाई परिष्कृत गर्छन्।
यस क्रममा आफूले सुरूमा सोचेको समाधान परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्छ। अर्थात्, आफूले सही ठानेको उत्तरमा अडिनुभन्दा प्राप्त प्रतिक्रिया र प्रमाणका आधारमा विचार परिवर्तन गर्न विद्यार्थीलाई प्रोत्साहित गरिन्छ।
'यही प्रक्रियामार्फत उनीहरूले अनुसन्धान, आलोचनात्मक सोच, सिर्जनात्मकता र समस्या समाधानको अभ्यास गरेका थिए,' अर्यालले भने।
कार्यक्रममा विद्यार्थीलाई डिजाइन थिंकिङको प्रक्रियामा सहजीकरण गर्न ३० जना जुनियर कोच सहभागी थिए।
तीमध्ये १० जना अन्तर्राष्ट्रिय र २० जना राष्ट्रिय जुनियर कोच थिए। एक जना लिड कोच र पाँच जना सिनियर कोचले उनीहरूलाई मार्गदर्शन गरेका थिए।
विद्यार्थी कार्यक्रम सुरू हुनुअघि जुनियर कोचले तीन दिन डिजाइन थिंकिङसम्बन्धी प्रशिक्षण लिएका थिए। त्यसपछि अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म उनीहरूले विद्यार्थी समूहसँग प्रत्यक्ष काम गर्दै आफूले सिकेका विधि प्रयोग गरेका थिए।
जुनियर कोचको भूमिका विद्यार्थीलाई समाधान बताउनु थिएन। उनीहरूले प्रश्न सोध्ने, विद्यार्थीको सोचलाई चुनौती दिने र प्रक्रियामार्फत अघि बढ्न सहजीकरण गर्ने काम गरेका थिए।
यसले कोचलाई पनि 'गरेर सिक्ने' अवसर दिएको थियो।
प्रशिक्षणमा सिकेको डिजाइन थिंकिङ विद्यार्थी समूहसँग तत्कालै प्रयोग गर्दा उनीहरूले त्यस प्रक्रियालाई व्यवहारमा बुझ्ने मौका पाए।
अन्तर्राष्ट्रिय र राष्ट्रिय जुनियर कोचलाई जोडी बनाएर विद्यार्थी समूहसँग काम गर्ने व्यवस्था गरिएको थियो। यसले फरक सांस्कृतिक तथा शैक्षिक पृष्ठभूमिका सहभागीबीच अनुभव आदानप्रदान गर्ने अवसरसमेत दिएको थियो।
इम्प्याक्ट विक सन् २०१५ मा सुरू भएको अन्तर्राष्ट्रिय पहल हो। यसको आधार डिजाइन थिंकिङ, नवप्रवर्तन र उद्यमशीलता हो। युवालाई आफ्नै समुदायका चुनौती बुझ्न र सम्भावित समाधान विकास गर्न सक्षम बनाउनु यसको उद्देश्य हो।
नेपालमा इम्प्याक्ट विक पहिलो पटक सन् २०१९ मा आयोजना भएको थियो।
किङ्स कलेजको सहकार्यमा भएको पहिलो संस्करणमा करिब १२० विद्यार्थी तथा युवा व्यवसायी सहभागी थिए।
उनीहरूले कृषि, पर्यटन, मोबिलिटी, कला तथा संस्कृति, स्वास्थ्य र शिक्षाजस्ता विषयमा काम गरेका थिए।
कोभिड–१९ महामारीका समयमा पनि यसको गतिविधि रोकिएन। सन् २०२० मा किङ्स कलेजसँगको सहकार्यमा 'नेपाल बनाम कोभिड–१९ भर्चुअल डिजाइन थिंकिङ च्यालेन्ज' आयोजना गरिएको थियो।
यस वर्षको इम्प्याक्ट विक किङ्स कलेजको आयोजनामा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेसको सहकार्यमा सञ्चालन भएको थियो।
इम्प्याक्ट विकको अन्तिम चरणमा विद्यार्थीहरूले रातो बंगला स्कुलको हलमा आफ्ना समाधानको पिच प्रस्तुत गरेका थिए।
विभिन्न चुनौतीमा काम गरेका विद्यार्थीले आफूले पहिचान गरेको समस्या, विकास गरेको समाधान र त्यसको सम्भावित प्रभावबारे प्रस्तुति दिएका थिए।
तर कार्यक्रमको सिकाइ अन्तिम पिचमा मात्र सीमित थिएन।
'समूहमा काम गर्दा विद्यार्थीले टिमवर्क र नेतृत्वको अभ्यास गरे। आफ्ना विचार अरूलाई बुझाउँदा सञ्चार तथा प्रस्तुतीकरणको सीप विकास भयो,' अर्यालले भने।
चुनौतीमाथि अध्ययन गर्दा अनुसन्धान र विश्लेषण गर्ने अभ्यास भयो भने सीमित समयमा समाधान तयार पार्दा निर्णय क्षमता र समस्या समाधान गर्ने सीपको प्रयोग भयो।
देशका विभिन्न स्थानबाट आएका विद्यार्थीले फरक पृष्ठभूमि र दृष्टिकोण भएका साथीहरूसँग काम गर्ने अवसर पनि पाए।
इम्प्याक्ट विकको मूल विचार यही हो—विद्यार्थीलाई समाधानको तयार उत्तर दिनुभन्दा समस्या समाधान गर्ने तरिका सिकाउनु।
चार दिनको कार्यक्रम सकिएसँगै पिच पनि सकिएका छन्।
तर समस्या हेर्ने, प्रश्न गर्ने, विचार बनाउने, परीक्षण गर्ने र प्रतिक्रियाका आधारमा सुधार गर्ने तरिका भने विद्यार्थीले आगामी अध्ययन, काम, समुदाय र उद्यमशील यात्रामा प्रयोग गर्न सक्ने सीपका रूपमा लिएर जानेछन्।