नेपालको निःशुल्क खेलकुद पूर्वानुमान (प्रेडिक्सन) एप 'खेलरो' ले आफ्नो पहिलो गेमविकको विजेता घोषणा गरेको छ।
इङ्लिस प्रिमियर लिग प्रेडिक्सन अन्तर्गत प्रतियोगिताको पहिलो प्रत्यक्ष राउन्ड (गेमविक-२) मा ५४ अंक बटुल्दै किसन कोइरालाले पहिलो उपाधि हात पारेका हुन्।
शीर्ष स्थानका लागि कोइरालाले मर्क्युरी महर्जनसँग समान ५४-५४ अंकको बराबरी गरेका थिए।
तर, खेलरोको नियमअनुसार बराबर अंक भएमा जसले आफ्नो अन्तिम भविष्यवाणी (प्रेडिक्सन) पहिले दर्ता गर्छ उसैलाई विजेता मानिने व्यवस्था छ।
कोइरालाले २६अगस्ट बिहान ८:३८ बजे आफ्नो अन्तिम भविष्यवाणी दर्ता गरेका थिए भने महर्जनले त्यसको करिब ६५ मिनेटपछि बिहान ९:४४ बजे अन्तिम भविष्यवाणी दर्ता गरेका थिए।
यस कारण कोइरालालाई पहिलो बनाइएको हो।
'खेलरो'का अनुसार पहिलो गेमविकमै हजारौँ भविष्यवाणी दर्ता भएका थिए।
पहिलो गेमविकका विजेता कोइरालाले बुद्ध एअरको तर्फबाट माउन्टेन फ्लाइट, केटिएम सिटीको ३ हजार रूपैयाँ बराबरको सपिङ भौचर क्युएफएक्स सिनेमाजका दुईवटा चलचित्र टिकट पुरस्कार प्राप्त गर्नेछन्।
'खेलरो'को प्रिमियर लिग प्रिडिक्सन प्रतियोगिता सिजनभर सञ्चालन हुनेछ।
प्रत्येक गेमविकमा सहभागीले नयाँ खेलको पूर्वानुमान गर्दै पुरस्कार जित्ने अवसर पाउनेछन्।
सिजनको अन्त्यमा ग्रान्ड प्राइजका रूपमा इलेक्ट्रिक स्कुटरसमेत जित्ने खेलरोले जनाएको छ।