बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालित सामुदायिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चालित स्वास्थ्य शिविरमा कुल ६७५ जनाले सेवा लिएका थिए।
शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गर्नुका साथै १२० जनाको अल्ट्रासाउन्ड परीक्षण गरिएको थियो।
शिविरमार्फत स्थानीय तथा प्रभावित समुदायका नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको थियो।
थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत गरिएको थियो।
आर्या फार्माल्याबले विपद्को कठिन समयमा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनःस्थापनामा सहयोग पुऱ्याउने आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग तथा स्वास्थ्य सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
यसअघि आर्या फार्माल्याबले विपद् प्रभावितका लागि ८२ लाख रूपैयाँभन्दा बढी औषधिजन्य सामग्री सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।