इस्लिङ्टन कलेजका एमबीए विद्यार्थीहरूले बाढीपछि घर पुनर्निर्माण गरिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले मौलिक कलाकृतिको परोपकारी अक्सन आयोजना गर्ने भएका छन्।
कलेजको एमबीए पल्स कम्युनिटीको आयोजनामा 'अक्सन फर ए कज' नामक अक्सन आगामी शुक्रबार काठमाडौंको कुमारी हलमा हुने भएको हो।
आयोजकका अनुसार अक्सन साँझ ५:३० बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ।
अक्सनमा विद्यार्थीहरूले सिर्जना गरेका मौलिक कलाकृति बिक्रीका लागि राखिनेछन्।
प्रत्येक कलाकृति बिक्रीबाट प्राप्त रकमको ७० प्रतिशत सम्बन्धित विद्यार्थी कलाकारलाई र ३० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमले युवा कलाकारलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने तथा त्यसबाट आम्दानी गर्ने अवसरसँगै बाढी प्रभावित परिवारको पुनर्निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
अक्सनमा कलाप्रेमी, कला संग्रह गर्नेहरू, व्यवसायी तथा सर्वसाधारणलाई सहभागी भई बोलकबोल गर्न आयोजकले आग्रह गरेको छ।
संकलन हुने रकम सहभागी खरिदकर्ताको संख्यामा निर्भर रहने आयोजकको भनाइ छ।
इस्लिङ्टन कलेजको स्नातकोत्तर तहको एमबीए कार्यक्रमका विद्यार्थीहरूको समुदाय एमबीए पल्स कम्युनिटीले 'अक्सन फर ए कज' कार्यक्रमको परिकल्पना तथा सञ्चालन गर्न लागेको हो।
कार्यक्रममा प्रवेश निःशुल्क हुने बताइएको छ।