सरोज भट्टराईको पहिलो कृति 'कलेजी प्रेम' लोकार्पण भएको छ।
प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति लोकार्पण भएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा नबिल बैंकका सिइओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी, दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा कलेजी प्रेम माथि आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेका थिए।
लोकार्पण समारोहमा लेखक भट्टराईले कलेजी प्रेम केवल प्रेमकथामा सीमित कृति नभई समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने साहित्यिक प्रयास भएको बताए।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले पुस्तकमा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान बनाउन चाहने धेरै युवाको जीवनसँग मेल खाने बताए।
देशप्रतिको नागरिक दायित्वमा जोड दिँदै कार्कीले लेखकसहित युवालाई आफ्नो सीप र ज्ञान देश निर्माणमा प्रयोग गर्न आग्रह गरे।