इस्लिङ्टन कलेजको एमबिए पल्स कम्युनिटीले आयोजना गरेको विद्यार्थी–नेतृत्वको परोपकारी कला अक्सन 'अक्सन फर ए कज' मार्फत कुल २ लाख ८२ हजार ४५ रूपैयाँ बराबरको बिक्री भएको छ।
शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना गरिएको अक्सनमा एमबिए विद्यार्थीहरूले सिर्जना गरेका मौलिक कलाकृतिहरू बिक्रीका लागि राखिएका थिए।
अक्सनबाट भएको कुल बिक्रीमध्ये ८९ हजार ६१३ रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रत्यक्ष योगदान गरिनेछ।
यसका अतिरिक्त, एमबिए पल्स कम्युनिटीले कुल बिक्री रकमको थप १० प्रतिशत अर्थात् २८ हजार २०४ रूपैयाँ ५० पैसाको योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
यस अतिरिक्त योगदानसहित प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि कार्यक्रममा कुल १ लाख १७ हजार ८१८ रूपैयाँ संकलन भएको छ।
हालैको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यस अक्सनमा विद्यार्थी कलाकारका मौलिक कलाकृतिहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा कलाप्रेमी, सङ्ग्राहक, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
'अक्सन फर ए कज' इस्लिङ्टन कलेजको एमबिए पल्स कम्युनिटीका विद्यार्थीहरूले पूर्णरूपमा परिकल्पना, आयोजना र सञ्चालन गरेका हुन्।
यस पहलले विद्यार्थीको सिर्जनशीलता र सामाजिक उत्तरदायित्वलाई जोड्दै बाढी प्रभावित समुदायको पुनःस्थापनामा योगदान गर्ने अवसर सिर्जना गरेको छ।
अक्सनमार्फत विद्यार्थी कलाकारहरूले आफ्नो सिर्जनाबाट प्रत्यक्ष आम्दानी गर्ने अवसरसमेत प्राप्त गरेका छन्।
यस पहललाई सफल बनाउन योगदान गर्ने कलाकार, बोलकबोलकर्ता, खरिदकर्ता, सहभागी तथा समर्थकप्रति आयोजकले आभार व्यक्त गरेको छ।