सन् २०२५ को अक्टोबरमा वर्ष भरिकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक घुम्न आएका हुन्।
यसअघि गत मार्चमा १ लाख २१ हजार पर्यटक आएका थिए। त्यसपछि गत अप्रिलमा १ लाख १६ हजार पर्यटक घुम्न आएका थिए। जेनजी आन्दोलनका बाबजुत पनि विदेशी पर्यटक आगमनको कमी नभएको तथ्यांकले देखाएको छ।
त्यसो त भदौ २४ को घटनामा केही ठूला होटल समेत आगजनी र तोडफोडको सिकार भएपछि त्यसको सिधा असर पर्यटन क्षेत्रमा पर्छ भन्ने धेरैको डर थियो।
यस्ता विध्वंशात्मक घटनाले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रचार हुने र नेपाल आउन चाहने पर्यटकले आफ्नो मन बदल्न सक्ने कतिपयको शंका थियो।
घटनालगत्तै कतिपय होटलको बुकिङ रद्द हुनुले पनि शंका बढाइदिएको थियो। आन्दोलन लगत्तै सेप्टेम्बरबाट सुरू भएको नयाँ सिजनमा पर्यटकको संख्या केही घटेको पनि थियो। बोर्डको तथ्यांक अनुसार सेप्टेम्बरमा ७८ हजार सात सय ११ पर्यटक आएका थिए।
सिजनको सुरूआतमा एक लाख बढी पर्यटक आगमनको अपेक्षा व्यवसायीले गरेका थिए। अपेक्षा अनुसार पर्यटक आगमन नहुँदा पर्यटनसँग सम्बन्धित सरोकारवालाहरू पटक पटक छलफलमा पनि जुटे।
पर्यटकलाई नेपाल सुरक्षित छ है भन्ने सन्देश पुर्याउन उनीहरूले विभिन्न अभियान पनि चलाए। थुप्रै गन्तव्यबाट पर्यटकलाई नै सामाजिक सञ्जालमार्फत नेपाल सुरक्षित रहेको भन्दै ‘लाइभ’ समेत गराए।
जे होस् यसले पनि सकारात्मक प्रभाव पुर्याएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक राज जोशी बताउँछन्। उनका अनुसार आन्दोलनले अघिल्लो महिना पर्यटक आगमनमा केही प्रभाव पुर्यायो। तर अब पुरानै लयमा फर्कने संकेत देखाएको छ।
अहिले पनि अन्तर्राष्ट्रिय संघ-सस्थाहरूसँग दैनिकजसो नेपालको अवस्थाबारे कुराकानी भइरहेको बोर्डका सिइओ जोशीले जानकारी दिए।
उनका अनुसार विभिन्न मुलुकले यति बेला आफ्ना नागरिकलाई नेपाल भ्रमणमा पठाउन यहाँको शान्ति सुरक्षाबारे सोधिरहेका छन्।
यसका लागि बोर्डले 'नेपाल नाउ' अभियानमार्फत पर्यटन क्षेत्र पुनरूत्थानको प्रयास गरेको छ। यो अभियानअन्तर्गत नेपाल घुमफिर गरिरहेका पर्यटकले आफ्नो अनुभव सुनाउँदै सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
पर्यटक आगमनको तथ्याङ्कले पर्यटन क्षेत्रमा उत्साह ल्याएको छ। केही समयअघि विभिन्न गन्तव्यहरूमा आन्तरिक पर्यटकको घुइँचो नै थियो।
खासगरी पदयात्राका प्रमुख गन्तव्यहरूमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचोले व्यवसायीहरूको उत्साह बढाएको नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ।
पदयात्रा र पर्वतारोहणको सिजन भएकाले पनि गन्तव्यहरूमा स्वदेशी र विदेशी पर्यटकको भीड बढेको टानका अध्यक्ष सागर पाण्डे बताउँछन्।
उनका अनुसार अन्नपूर्ण सर्किट, लाङटाङ लगायतका प्रमुख पदयात्रा रूटमा अहिले पनि चहलपहल बढेको देखिन्छ। ती गन्तव्यका होटलको अकुपेन्सी पनि बढेको छ।
पर्यटक आगमन र चहलपहलले विभिन्न गन्तव्यका होटलहरूमा पनि अकुपेन्सी बढाएको छ।
होटल संघ पोखराले तिहार अघिदेखि पोखरामा पर्यटक चहलपहल बढेको र होटल अकुपेन्सी ५० प्रतिशत पुगेको जनाएको छ।
'विभिन्न गन्तव्यमा ट्रेकिङ जाने र फर्कनेहरू पोखरामा बस्ने भएकाले होटल अकुपेन्सी बढेको छ,' संघका अध्यक्ष लक्ष्मण सुवेदीले सेतोपाटीसँग भने, 'अहिले अधिकांश होटलमा लगभग ५० प्रतिशत अकुपेन्सी छ। यसमा थोरै विदेशी र धेरै स्वदेशी पर्यटक छन्।'
नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटकीय सिजन मानिन्छ। पर्यटकहरू यो बेला पर्वतारोहण, पदयात्रा, तीर्थयात्रा, साहसिक यात्रा लगायतका गतिविधिमा रमाउन नेपाल आउँछन्।
शरद ऋतुमा विभिन्न हिमाल चढ्न ८३ वटा देशका एक हजार ४५० जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
विभागका निर्देशक हिमाल गौतमका ५९ वटा हिमाल चढ्नका लागि लिइएको अनुमतिबाट अहिलेसम्म २५ करोड ५१ लाख ६५ हजार रूपैयाँ रोयल्टी संकलन भएको छ।
बोर्डका अनुसार सन् २०२५ को १० महिनामा (जनवरी-अक्टोबर) ९ लाख ४३ हजार ६०७ जना पर्यटक भित्रिएका छन्।
कुन महिना कति पर्यटक
जनवरी–७९ हजार ९९१
फेब्रुअरी –९६ हजार ८८०
मार्च–१लाख २१ हजार ६८७
अप्रिल–१ लाख १६ हजार ४९०
मे–८६ हजार ३१६
जुन–७६ हजार २१६
जुलाई–७० हजार १९३
अगष्ट–८८ हजार ६८०
सेप्टेम्बर–७८ हजार ७११
अक्टोबर–१ लाख २८ हजार ४४३
कुन देशबाट कति पर्यटक
भारत–२ लाख ४३ हजार ३५०
अमेरिका–९३ हजार ९८५
चीन–४७ हजार २६१
बेलायत–४५ हजार २८७
बंगलादेश–३८ हजार ९८४
अष्ट्रेलिया–३२ हजार १३७
श्रींलका–२४ हजार ८४१
जर्मनी–२२ हजार २६१
थाइल्यान्ड–१९ हजार ३२९