साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम्कोको एउटा हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १४ जनाको मृत्यु भएको छ।
सरकारी समाचार एजेन्सीका अनुसार हेलिकप्टर आइतबार बिहान करिब ६ बजे खाडी तटस्थित रस तनुरा क्षेत्रमा दुर्घटनामा परेको थियो।
दुर्घटनाको कारण भने तत्काल खुलाइएको छैन।
समाचार एजेन्सीका अनुसार सम्बन्धित निकायहरूले दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अराम्कोले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
यो दुर्घटना अमेरिका र इरानबीचको अन्तरिम युद्धविरामपछि मध्यपूर्वमा तेल निर्यात फेरि बढिरहेका बेला भएको हो। विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले पनि तेल तथा ग्यास उत्पादन र निर्यात बढाइरहेको छ।
यसअघि करिब चार महिनादेखि रोकिएको रस तनुरा टर्मिनलबाट कच्चा तेल लोड गर्ने काम अराम्कोले शुक्रबारदेखि पुनः सुरु गरेको थियो।
रस तनुरा स्ट्रेट अफ हर्मुजको पश्चिममा पर्ने खाडी क्षेत्रको प्रमुख तेल निर्यात केन्द्रमध्ये एक हो।