फ्रान्सको उत्तरपूर्वी सहर टोम्ब्लेनमा आइतबार प्यारासुट प्रशिक्षणका लागि प्रयोग हुने एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ११ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीका अनुसार नान्सी–एसे विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो।
विमानमा एक पाइलट, पाँच प्रशिक्षार्थी प्यारासुटिस्ट र पाँच प्रशिक्षक सवार थिए। दुर्घटनामा सबै ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजले घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विमान धावनमार्गबाट करिब ३०० मिटर पर खसेको बताए।
उनले दुर्घटनाका बेला केही प्रशिक्षार्थीका परिवारका सदस्य विमानस्थलमै रहेको र उनीहरूले आफ्नै आँखाअघि दुर्घटना देखेको जानकारी दिए।
प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ११ बजे विमान उचाइ लिँदै गर्दा अचानक इन्जिनको आवाज बन्द भएको थियो। त्यसपछि विमान सिधै जमिनतर्फ खसेको उनले बताए। दुर्घटनाअघि आगलागी, विस्फोट वा अन्य कुनै असामान्य संकेत नदेखिएको उनको भनाइ छ।
क्षेत्रीय प्रिफेक्ट इभ सेगुईले पनि विमान ठाडै जमिनमा खसेको बताए।
दुर्घटना आवासीय क्षेत्र र किनमेल केन्द्र नजिकै भएको थियो। विमानको भग्नावशेष साइकल लेनमा छरिएको छ।
'केही मिटर यताउता भएको भए यो दुर्घटनाले आसपासका घर र सर्वसाधारणमा पनि ठूलो मानवीय क्षति पुर्याउन सक्थ्यो,' सेगुईले भने।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त एक इन्जिन भएको विमान जर्मनीमा दर्ता गरिएको थियो। यद्यपि जर्मन विदेश मन्त्रालयले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी छ।