नेपाल र भियतनामबिच पर्यटन प्रवर्द्धन गर्न रुप्से होलिडेजले ९ र १३ डिसेम्बरमा काठमाडौं–दानाङ चार्टर उडान गर्ने भएको छ।
नेपाली पर्यटकलाई भियतनामको दानाङ लैजाने तथा भियतनामी पर्यटकलाई नेपाल ल्याउने गरी उडान र भ्रमणको व्यवस्था मिलाइएको रुप्से होलिडेजले जानकारी दिएको हो।
यस पहलले दुवै देशका यात्रुलाई ट्रान्जिटको झन्झटविनै सिधा यात्रा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेपाली पर्यटकले दानाङका समुद्री तट, बाना हिल्सको प्रसिद्ध गोल्डेन ब्रिज तथा ऐतिहासिक होई आनलगायतका स्थलको अनुभव गर्न सक्नेछन्।
भियतनामी पर्यटकलाई नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृति सम्पदा र आतिथ्यसँग परिचित गराउने लक्ष्य राखिएको छ।
रुप्से होलिडेजका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक रमेश पराजुलीले नेपाली पर्यटकलाई भियतनाम घुमाउनु र भियतनामी पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्य रहेको बताए।
'९ र १३ डिसेम्बरमा हुने चार्टर उडानले दुई देशबिच पर्यटक आदान–प्रदान बढाउँदै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने विश्वास लिएका छौँ,' उनले भने ।