कविता
जगतीतलको मिर्मिरेमै
अस्ताए ती अवोध
रोजै पुग्थे चरण पाखा
ती कोपिला शैशव सखा
बमकै बनाइ खेले खेलौना
राख्दै कोमल अञ्जुलीमा
मुस्लो छुट्दा प्रलय धुँवाको
पोल्दा छर्राले गर्दै विलाप
रोए हुन् कति हा! ती निष्पाप
कालो पर्दा ओढी पाखा
रूखपात रोए वनका सारा
संवेदना बोकी बादल
उड्यो बस्ती बस्ती उपर
विगतको युद्धभूमि रोल्पा
धर्केर रोयो आज गैरीगाउँ
डुब्यो शोकमा सारा
ओर्लंदा निरव मृत्यु फेरि
टुटेन अझै अविदित भयको आशंका
थाल्यो बोल्न विलाप विलना
हृदयभेदी अगोचर गीत
बोल्नै छाडे पाखाभरि
हाय ! तिनको के दोष?
कुल्चँदै पीडा संकट लाख
हुर्काएथे दुःखसाथ
भर्दै क्रन्दन कणमा हावा
आई सुसेल्दा आँगनमा
जल्दै ज्वलित भित्री मन
टिल्पिलाए सबका नयन
चहर्याए विदीर्ण मुटु कलेजा
बढे जननीका हृदयका शूल
हेर्दै आफ्नो रित्तो काख
ए ! सृष्टिका सुनौला
फर्क भनीकन गर्छन् विलाप
भन्छन् ल्याइदेऊ आज
ती छन् कहाँ ?
गर्छन् उजुर बारम्बार
सुन्दैन दैव तिनको चित्कार
ध्वंशले निल्यो तिनको प्राण
सन्नाटा सघन घोर
उतारी
अस्ताए ती अवोध
सपना उनकै बोकी
बाबा पसेका परदेश
सारा ढुकुटी खम्बा आधार
रत्न हृदय घरका ज्योति उज्याला
थिए लक्ष्यका केन्द्र हजार
व्याकुल जननी हाय ! हृदय
भासिए तिनका पयर
टेकेझैं मरुको भयो
बालुवामा पुञ्ज–पुञ्ज
तिनकै बोकी सपना हजार
तिनकै उपर वर्षाउँथे
जननी असीम प्यार
सुन्दर सृष्टि उडे रंग
देखे सारा निस्सार निस्सार ।