Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, फागुन ५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

कोरोनाको देशबाट

Nmb
Nmb
राजुबाबु श्रेष्ठ

राजुबाबु श्रेष्ठ

gibl
gibl
gibl
gibl
राजुबाबु श्रेष्ठ।
राजुबाबु श्रेष्ठ।
Tata box 1
Tata box 1

अचानक उनको जीवनको आकाशमा कालो बादल लाग्यो। अनगिन्ति चट्याङहरु परे। घनघोर अन्धकार छायो। महिना दिन अघिसम्म आफूलाई संसारकै सुखी ठान्ने उनको विचार एकाएक भत्कियो। चौबिसै घन्टा अकासका ताराहरु जस्तै चमचम चम्किरहने उनको न्युयोर्क सहर डरलाग्दो एकान्तमा बदलियो।

आज न्युयोर्क सहरबाट एकाएक जीवन हराएको छ। केवल मृत्युका त्रासदीयुक्त साइरन बजाउदै घुमिरहेका छन् निरिह एम्बुलेन्सहरु। हरेक बिहान सखारै मृत्युका समाचार फुक्छन् रेडियो र टेलिभिजनहरु। उनलाई अब रेडियो र टेलिभिजनसँग पनि डर लाग्न थालेको छ।

न्योयोर्कका हरेक पोल, पेटीहरुमा, सडकका रेलिङहरुमा जताततै कोरोना भाइरसहरु बग्रेल्ति नाँचिरहेको भान हुन्छ। सपिङ मलका भित्ता-भित्तामा, सामानका प्रत्येक बट्टाहरुमा तिनै भाइरस खेलिरहेको प्रतित हुन्छ। कोरोनाले सहरको खुशी खोसेको छ। उज्यालो खोसेको छ। मान्छेहरु कतै हराएका छन्। सबैभन्दा बढी मानवता हराएको छ।

न्युयोर्कको सेन्ट्रल पार्क नजिकै छ उनको अपार्टमेन्ट। अपार्टमेन्ट नजिकै छ उनले काम गर्ने हस्पिटल। हिडेर जाँदा दशै मिनेटमा पुगिन्छ। पहिले हरेक बिहान सेन्ट्रल पार्कमा एक घन्टा हिडेपछि मात्र सुरु हुन्थ्यो उनको दैनिकी। सेन्ट्रल पार्क उनलाई आफ्नै घरको बगैचा जस्तो लाग्दथ्यो।

साँझ हस्पिटलको ड्युटीले भ्याउदिनथिन्। उनी नहुँदा उनका श्रीमान नविन दुईटै बच्चा लिएर पुग्दथ्यो सेन्ट्रल पार्क। सन्ध्याकालको सूर्यको प्रकाशले पहेलपुर सेन्ट्रल पार्कका रुखहरु साच्चै अति सुन्दर देखिन्थ्यो। पार्कभरी हुन्थ्यो वरपरका स्थानीयहरुको भीड। स्थानीय बासिन्दाका लागि पार्क प्रकृतिको अमुल्य ऊपहार जस्तै थियो।

साँझ बिहानको समयमा हिड्डुल गर्न होस् वा बालबच्चा खेलाउन। प्रेमीहरुलाई डेटिङ गर्न होस वा दु:खीहरुको लागि एकान्तबास बस्न, सबैका लागि प्रिय थियो यो पार्क। कहिलेकाही बिदाको दिन सपरिवार सेन्ट्रल पार्कमा दिन बिताउँथे उनीहरु। कति सुन्दर थियो जीवन। कति सुखी थियो जीवन।

जब न्युयोर्क सहरमा कोरोनाको ताण्डव नृत्य शुरु भयो। उनको जीवनको लय पनि भूकम्पले भत्किएको धरहरा जस्तै भयो। घरको झ्यालबाटै देखिने सेन्ट्रल पार्क पनि कोशौ मील टाढा भए जस्तै भयो। पार्कका खाली ठाउँमा कोरोनाका बिरामी राख्नको लागि पालहरु टाँगियो।

Premier
Laxmi bank
Premier
Laxmi bank

दैनिक सयौंको संख्यामा बिरामीहरु आई मृत्युको पर्खाईमा बस्न थाले। स्वस्थ मान्छेहरुका लागि पार्कको ढोका बन्द भयो। हरेक दिन पार्कमा मृत्यु जन्मिन थाले। प्लाष्टिकको ब्यागमा पोको पार्न थालियो मृत शरीरहरु। सहरमा मर्नेलाई भन्दा बाच्नेलाई कठिन हुन थाल्यो।

सडक, पार्क हुँदै कोरोना निर्दयी बनेर घरघरमा पस्न थाल्यो। हुँदाहुँदा आफ्नै घरभित्र पनि एक्लिइन् उनी। आजकल  दिनभर हस्पिटलको कहर काटेर घर पुग्दा  कोही आउँदैनन् उनको स्वागतको लागि ढोका खोल्न। घरभित्रै भएर पनि कोही देखिदैनन् घरभित्र।

Ncell
Ncell

छोरा त बुझ्ने भएको छ तर तीन वर्षकी सानी छोरी तमन्नालाई भने उनको आगमनपूर्व नै कोठामा पुर्याउँछन् उनका श्रीमान। घरमा पसेपछि सरासर बाथरुममा नुवाईधुवाई गरेर कोठामा छिर्छिन्। कोठामा छिरेपछि एकैचोटी भोलि बिहान हस्पिटल जानको लागि मात्र बाहिर निस्किन्छिन् उनी।

सानी छोरीलाई छलेर बेलाकुबेला खानेकुरा कोठामा पुर्याईदिन्छन् उनका श्रीमान्। हस्पिटल र त्यही एउटा कोठा भएको छ उनको दुनियाँ।

सहरमा कोरोना आतंक मच्चिएसँगै उनको घरको सारा काम नविनको काँधमा परेको छ। पकाउने, खुवाउने, सफा गर्ने, लुगा धुने सबै काम सकेर मात्र अनलाइनबाट कार्यालयको काममा लाग्छन् नविन। बिहानदेखि बेलुकी नसुतुन्जेलसम्म  बच्चाको कचकच र चकचक दुबै सम्हाल्नु पर्छ उसले।

एउटी श्रीमती गुफा पस्दा यति धेरै कामको बोझ थपिन्छ भन्ने अनुभव उसले कहिल्यै गरेको थिएन। यसपालीदेखि भने उसको मनमा श्रीमती प्रतिको माया र इज्जत दुवै बढेको छ। हस्पिटलमा दिनदिनै जानुपर्ने भएकोले श्रीमतीको अवस्थादेखि भने उ थोरै दुखी र त्रसित पनि छ। हरेक दिन बेलुकी श्रीमती घर आईपुग्दा स्वस्थ छिन् कि छैनन् भन्ने चिन्ताले उसको मन खान्छ।

जति नै पीडा भएपनि सँगै रहेकी श्रमतिसँग बाड्ने र साट्ने मौका मिल्दैन। राति छोराछोरी सुतिसके पछि श्रीमतीको मुख हेर्न विस्तारै श्रीमतीको ढोका ढकढक्याउन पुग्छ। श्रीमतीले ढोका खोलेपछि आफैले बोकेर लगेको चट्टी ढोका नेर ओच्छ्याएर बस्छ।

श्रीमान कोठामा आउँदा पनि कुनै अछुत आएजस्तै गरि छुट्टै बसाउनु पर्दा पार्बताको आखाबाट बर्रर्रर आँशु वर्षिन थाल्छ। श्रीमानलाई ग्वाम्म अंगालोमा बाँधेर धोको फुकाएर रोउँरोउँ झै लाग्छ। तर उनी त्यसो गर्न पनि सक्दिनन्। कतिबेर त एक अर्काको मुख हेरेर चुपचाप बसिरहन्छन् दुवैजना। कहिलेकाही भने धेरै बेर कुरा हुन्छ।

'नव! आज मात्र हाम्रो हस्पिटलमा ३७ जना कोरोनाका कारण मरे। मलाई त हस्पिटल जानै डर लाग्न थालेको छ। बिरामी दिनदिनै बढेको बढ्यै छन्। दिनभर तिनै बिरामीहरुसँग चल्नु पर्छ। मलाई त मेरोभन्दा पनि तपाई र छोराछोरीको औधि पीर लाग्छ,'  पार्बताले आफ्नो श्रीमानसँग चिन्ता व्यक्त गरिन्।

'के गर्ने त पारु? भविष्य उज्ज्वल बनाउन भनि अमेरिका भसियौँ। आज यस्तो दिन देख्नु पर्यो। नेपालबाट बा-आमाले पनि नेपालै आईज बाबु भनेर भन्नुहुन्थ्यो। दिउँसो तिम्री आमा पनि बाबुनानीसँग कुरा गरेर रुदै हुनुहुन्थ्यो। म त केही बोल्नै सकिन' नविनले पनि दिउँसो घरमा भएको कुरा बतायो।

'नेपाल फर्केर पनि कसरी जानु। हुँदाखादाको जागिर छाडेर के-के न होला भनेर यहाँ आइयो। पन्ध्र वर्षसम्म दिनरात मेहनत गरेर जेनतेन आफ्नै बासको जोहो गरियो। यहाँको सुविधा, सम्पत्ति, बालबच्चाको भविष्य चटक्क छाडेर नेपाल फर्केर पनि के गर्नु?

 देशमा पनि राजनीति बिग्रेर, नेताहरु भ्रष्ट भएर काम गरी खाने वातावरण नै छैन भन्छन् साथीहरु। खै म त केही सोच्नै सकिरहेकी छैन' द्विविधायुक्त स्वरमा बोलिन् पार्बता।

'यसरी पनि कति दिन बस्नु र? सानीले मामु कहाँ जानु भो भनेर दिनमा पचास चोटी सोध्छे। छोरो डराउने र एकोहोरो टोलाउने भएको छ। राति सुत्ने बेलामा सानी रोएको त तिमीले पनि सुनेकी नै छ्यौ। तिमीलाई देखाईदिउँ पनि त्यसले तिमीसँग दुरी राख्न सक्दैन।

रोगको निदान हुने कुनै छेकछन्द देखिदैन। केही भैहाल्यो भने त यो बिरानो ठाउँमा कुकुर बिरालो मरे जस्तै पो हुन्छ त। अमेरिकामा पनि यस्तो दिन आउला भनेर कसले पो सोचेको थियो र? यतिखेर भने मलाई बारम्बार आफ्नै गाउँ र आफन्तहरुको यादले सताईरहेको छ। दुख पर्दा सम्झने त आफ्नै मान्छे र आफ्नो देशले नै रहेछ, बुझ्यौ पारु?' नविनले विस्तारै मनको पीडा पोख्यो।

कुरा गर्दा गर्दै रातको बाह्र बज्यो। भोलिको ड्युटी सम्झेर सुत्ने तरखरमा लागिन् पार्बता। नविन चट्टी बोकेर छोराछोरी भएको कोठामा फर्कियो।

पार्बता बिहान १० बज्नु अगावै कोठामा तयार भै श्रीमानको इशाराको प्रतिक्षामा बस्छिन्। जब श्रीमान ढोका नजिकै आएर गीत गाउन थाल्छ तब कोठाबाट निस्केर सरासर बाहिर निस्किन्छिन्। लिफ्टतिर नगई भर्‍याङबाटै तल झर्छिन्।

त्यसो त उनले लिफ्ट चढ्न छाडेको पनि धेरै दिन भयो। जबदेखि कोरोनाको समाचार आयो तबदेखि नै उनले भर्‍याङको रेलिङमा समेत छुन छाडेकी हुन्। काममा जादा पनि बाटोका मान्छेहरुबाट जोगिएर हिड्छिन्।

दशै मिनेटमा पुग्ने हस्पिटल पुग्न घन्टौ लागे पनि हुन्थ्यो जस्तो लाग्न थालेको छ उनलाई। तर उनको इच्छाले बाटो छोटिने कुरो भएन। घरबाट निस्केको दश मिनेटमै पुग्छिन् हस्पिटल।

हस्पिटल पुगेपछि गेटमा रहेको सेनिटाइजर हातमा दलेर सेन्सरमा कार्ड देखाउँछिन्। ढोका खुलेपछि पाँचौ तल्लामा रहेको चेन्जिङ रुममा गएर आफ्नो लुगा फुकाली सेनिटाइज बक्समा राख्छिन्। आफ्नो लकरमा रहेको पिपिई युक्त ड्रेस लगाएर चन्द्रयानमा जान लागेको यात्री जस्तै बनेर वार्डतर्फ लाग्छिन्। वार्डमा फेरि सुरु हुन्छ सदाझै उनको दैनिकी।

अस्पतालको वार्डका सबै बेडहरु बिरामीले भरिभराउ छन्। कसैको कुरुवा छैनन्। कसैको मुखमा भेन्टिलेटर लगाइएको छ भने कति बिरामी भेन्टिलेटर बिना नै छन्। भेन्टिलेटर आवश्यक रहेको कति बिरामीलाई अभावका कारण भेन्टिलेटरमा राख्न सकिएको छैन।

नर्स र डाक्टरहरु बिरामीलाई निको पार्ने भरमग्दुर प्रयासमा छन्। उनको ड्युटी नै कोरोना संक्रमितहरु राखिने वार्डमा छ। बिरामीको ज्वरो चेक गर्ने, अक्सिजनको अवस्था हेर्ने र बिरामीहरुको श्वास प्रश्वासको चालको मनिटरिङ गर्ने काममा व्यस्त रहनु पर्छ वार्डमा खटिएका सबै नर्सहरु।

'तुरुन्तै केहिL भेन्टीलेटर सपोर्ट गर्नुपर्यो। अवस्था एकदमै क्रिटिकल छ। भेन्टिलेटर भएन भने धेरैको ज्यान जान सक्छ'  वार्डमा खटिएका डाक्टर फोनमा कसैलाई भन्दै थियो।

भेन्टिलेटरमा राखिएका बिरामीहरु देख्दा सामान्य नै देखिन्थ्यो। उनीहरुको श्वासको चाल पनि नर्मल नै लाग्दथ्यो। भेन्टिलेटर नपाएका बिरामीहरुको अवस्था भने कतिखेर के हुन्छ भन्न सकिने अवस्था थिएन। न्युयोर्क सहरको हस्पिटलमा भेन्टिलेटर नपाएर बिरामीको मृत्यु हुनेछ भनेर उनले कल्पना पनि गरेकी थिइनन्।

यतिखेर उनले चाहेर पनि केही गर्न सक्ने अवस्था थिएन। ज्वरो बढेमा बिरामीलाई सिटामोल दिन्थिन्। डाक्टरहरुसँग पनि बिरामीलाई सान्त्वना दिनु सिवाय अन्य कुनै उपाय थिएन। वार्डमा खटिएका नर्सहरु बिरामीहरुलाई कपमा तातो पानी दिने र बिरामीको बेडबेडमा गएर उनीहरुको अवस्था सोध्ने काम गर्दथे।

आजै मात्र उनको वार्डमा भर्ना गरिएका सात जना प्लास्टिकको ब्यागमा प्याक भए। उनको जीवनमा यति धेरै मृत्युहरुसँग साक्षात्कार कहिल्यै भएको थिएन। दैनिक देखिने घटनाले अब उनीभित्रको संवेदना पनि विस्तारै विस्तारै कम हुँदै जादै थियो। एउटा बिरामी निको भएर जाँदा वार्डभरी नै खुशीको माहौल बन्थ्यो। निको भएको बिरामी देख्दा उनीभित्र पनि साहस पलाएर आउथ्यो।

उनकै वार्डको २० नम्बर बेडमा एक जना ५०/५५ वर्षका नेपाली छ दिनदेखि कोरोनासँग लड्दै थिए। भर्ना भएदेखि उसको स्वास्थ्यमा कुनै सुधार आउन सकेको थिएन। नेपाली भएकै कारण उनी अन्य बेडमाभन्दा बढी नै पुग्दथिन् त्यहाँ। १५ वर्ष भएछ उ युएस आएको। यतिका वर्ष अमेरिकामा काम गर्दा पनि अझै कागज बनेको रहेनछ। सकेजति दु:ख गरेर  पैसा कमाउने र पठाउने गर्दा गर्दै बितेछ यतिका वर्ष।

उ नेपाल गएपछि फेरि कहिल्ये आउन पाउँदैन। त्यसैले पनि दुवै छोराहरुलाई ब्याचलर्स पास गराएर काठमान्डौँमा एउटा सानो झुप्रो हालेपछि देश फर्कने सुरमा रहेछन्। अभावको लडाई भर्खरै सकेर नेपाल फर्कने सुरसार कस्दै गर्दा कोरोना बाधक बनेर तेर्सिएको रहेछ उसको सामु।

'बहिनी, यसै वर्ष छोराहरु दुवैको कलेज सकियो। छोराहरुले कमाई गर्न थालेकोले शीरको बोझ हलुको भएको छ। अब नेपाल फर्केर श्रीमतीको सुख-दुखको साथी बन्छु भनेको कोरोनाले यस्तो हाल बनायो। यहाँबाट उठ्नासाथ फेरि कहिल्यै नआउने गरी फर्कन्छु आफ्नै देश।'

हिजोको भेटमा पार्बतासँग मन खोलेको थियो उसले।

साच्चै परिवार छाडेर यो बिरानो देशमा १५ वर्ष कटाउन कति कष्ट भयो होला ती पोख्रेली दाजुलाई। कति बने होलान् उसका आँखाबाट एकान्त कोठामा आँसुका आहाल। कति सुने होलान् मोबाइलको स्क्रिनमा श्रीमतीको बिरह गीत। कति सम्झे होलान् छोराहरुको बालापनको चकचक।

हिजो घर फर्कदा बाटाभरी पार्बताको मस्तिष्कमा उसैका कुराहरु खेलिरह्यो। हिजोसम्म खुशीखुशी बोलिरहेका उनको माइति देशको दाजु आज सिकिस्त देखिन्थ्यो। बोल्न पनि निकै गाह्रो भए जस्तो। श्वास पनि रोक्कि-रोक्की फेरे जस्तो।

उसको सँगै बेडको बिरामी पनि एक घन्टा अगाडि मात्र प्लास्टिक ब्यागमा पोको पारेर लगेको थियो। कतिखेर कुन बिरामी प्लास्टिकमा पोको परि मुर्दाघरतिरको यात्रामा निस्कनु पर्ने हो कुनै ठेगान थिएन।

ती दाजुको अवस्था देखेर पार्बताको मनमा चिसो पस्यो। मनमा माया उर्लेर आयो। बेड नजिकै गएर हेरिन्। अनुहार गलेर फुङ्ङ उडेजस्तो देखिन्थ्यो। अनुहारको छाला सुख्खा र पहेलो पहेलो भएको थियो। अवस्था निकै गम्भीर देखेर उनले विस्तारै कोट्याइन्।

उनको स्पर्षले बिरामीले आँखा खोल्यो। पार्बतालाई देखेर उसका दुवै आँखाबाट सललल आँशु बग्यो। विस्तारै सिरानी मुनिबाट रुमालको सानो पोको झिकेर पार्बताको हातमा दिँदै सकि/नसकी विस्तारै बोल्यो- 'बहिनी, मेरी गोमासँग भेट्न लेखेको रहेनछ। छोराहरुले त गरिखाला तर मेरी गोमाले के गर्ली? जीवनभर छोराछोरीको भारभन्दा केही दिन सकिन। एक चिम्टी खुशी बोकेर गई उनको पोल्टामा हालिदिन मन थियो तर सकिन। अन्तिम क्षणमा निकै सम्झेका थिए भनेर सुनाईदिनु है मेरी गोमालाई।'

त्यसपछि उसको बोली अड्कियो। रुमालको पोको पार्बताको हातमा रह्यो। पार्बता आत्तिदै डाक्टरलाई बोलाउन कुदिन्। डाक्टर आएर सबै हेरे। केहीबेरको जाँचपछि सरी भन्दै डाक्टर आफ्नो क्याबिनतर्फ लागे। हेर्दाहेर्दै सेता प्लास्टिकका ब्याग बोकेर बसेकाहरु आई ब्यागमा हाली उनको पोख्रेली दाजुलाई मुर्दाघरतर्फ लगे। खाली बेडमा तुरुन्तै अर्को बिरामीले ठाउँ लियो।

ड्युटी सकेर तिनै पोख्रेली दाजुको नासो रुमालको पोको बोकी घरतर्फ लागिन्। बाटोमा तिनै दाजुको अनुहार झल्झली आईरह्यो आँखामा। भारी मन लिएर घरमा छिरिन्। घर सुनसान थियो। सरासर बाथरुममा नुहाएर कोठा भित्र छिरिन्। सँगै ल्याएको रुमालको पोकोमा स्यानिटाइजर स्प्रे गरेर दराज माथि राखिन्। पोको खोली हेर्न पनि डर लाग्यो। टिटेबुलमा राखिदिएको खाना खान पनि मन लागेन।

बारबार तिनै पोख्रेली दाजुले भनेका कुराहरु मष्तिष्कमा नाँचिरह्यो। जतिसुकै कोशिस गर्दा पनि उनको स्मृतिबाट हटनै सकेन पोख्रेली दाजुको अनुहार।

ढोकाको एकोहोरो ढकढक्याईले बल्ल उनको ध्यान ढोकातर्फ मोडियो। ढोका बाहिर सानी छोरीले मामु-मामु भनेर चिच्याईरहेको आवाजले उनको मन भित्रैसम्म चिरियो।

 'मामु कोठामा छैन नानु। भोलि आउनुहुन्छ अनि भेट्ने है नानु?'- नविनले सानीलाई फकाउने प्रयास गर्यो।

आज नविनले जति सम्झाउँदा पनि मानिन सानी। आज बाथरुममा कसैले नुहाएको आवाज सुनेकी थिई सानुले। आमा कोठामा छ भन्ने ठानी ढोकाको बाहिर उभिएर रुन लागी। पार्बता कोठाको बत्ति निभाएर ढोका भित्र बसी रुन लागिन्।

'मामु, म हजुरलाई दु:ख पनि दिन्न। चकलेट पनि माग्दिन। माम पनि खान्छु। ढोका खोल्नुस् न मामु'- उसले रुदै पटक-पटक आमालाई ढोका खोल्न अनुरोध गरी। भित्रबाट कसैको जवाफ आएन। भित्रबाट जवाफ नआए पनि उसले ढोकामा हान्न छाडिन।

छोरीको कुराले पार्बताको मुटु छियाँछियाँ भयो। आँशुले पूरै छाती भिज्यो। छोरीका प्रत्यक शब्द बाण बनेर पस्यो उनको छातीमा। कस्तो निर्मम समय। कस्तो कठोर बाध्यता। छोरीकै स्वास्थ्यको लागि यसरी बसेको भनेर छोरीलाई बुझाउन सक्ने अवस्था पनि थिएन। केहिबेरको रुवाई पछि छोरी ढोकामै निदाई।  

नविनले छोरीलाई बोकेर सुताउन कोठामा लग्यो। छोरीको रुवाई बन्द भयो। तर उनको मनको रुवाईको गति रोकिएन। अध्यारो कोठामा झ्यालबाट सुनसान न्युयोर्क सहरलाई नियालिन्। विगतमा आगो बले जस्तै धपधपि बल्ने न्युयोर्कका गगनचुम्बी महलहरुमा कता कति मात्र बत्ति बलेको थियो।

रातमा जुनकिरी चम्के जस्तै चम्किने सडकमा गाडीहरुको लाइट गायब थियो। आफ्नै लागि उज्यालो छर्न ठिंग उभिएका थिए सडकका ल्याम्पपोष्टहरु। सहरबाट यसको जीवन कसैले चोरे जस्तो लाग्दथ्यो। सेन्ट्रल पार्कको स्वास्थ्य क्याम्पबाट प्लाष्टिकका सेता ब्यागका पोकाहरु सेता गाडीमा लोड गरेको दृश्य प्रस्ट देखिन्थ्यो।

हिजोसम्म सपनाको सहर लाग्ने यो न्युयोर्क आज मुर्दाहरुको सहरमा अनुवाद भएको थियो। न्युयोर्कमा उनले देखेको भविष्य एकाएक भयमा बदलिएको थियो।

उनको मनमा अनेकौ तरंगहरु उठ्दै बिलाउदै गर्न थाल्यो। मन उड्दै उड्दै बेग हानेर आफ्ने गाउँ देशमा पुग्यो। जीवनका पुराना पन्नाहरु पल्टिदै गयो। जति जति पल्टिदै गयो, उतिउति रोमान्चित बन्दै गईन् उनी।

परिवारमा पहिलो नर्स पढने छोरी भनेर दंग थिए उनका बाबुआमा। गाउँभरी उनको गफ चुट्दै हिड्दथिन् बुढी हजुरआमा। काठमान्डौँको राम्रै हस्पिटलमा थियो जागिर। सधैँ ड्युटी सकेपछि आमाबाबुकै काखमा बित्दथ्यो समय।

आमाबाबुको मायाले पुल्पुलिएकी एक्ली छोरी। दु:ख कुन चराको नाम हो पत्तो थिएन। घरको कामको नाममा सिन्को पनि भाच्नु पर्दैनथ्यो। आमाले कहिलेकाही काम लगाईहाले पनि बाबु अघि सरिदिन्थे। मध्यम वर्गिय परिवार भएपनि कुनै राजकुमारीभन्दा कम थिइनन् उनी।

बेलुकीको समय सबै परिवार एकैसाथ। बिदामा सधै गाउँको यात्रा। हजुरआमाको काख। गाउँभरीका बुढाबुढीको ब्लड प्रेसर नाप्दैमा फुर्सद हुन्थेन। गाउँलेहरु अलिकति ज्वरो आयो भने दौडेर आईपुग्थे उनैकहाँ। खुशीखुशी ज्वरो नापेर सल्लाह दिन्थिन्। गाउँका सबै बुढाबुढीको माया र आशिष मिलेको थियो। काठमान्डौँ फर्कने बेला उनको बिदाई गर्न घरमै आईपुग्थे गाउँलेहरु।

आमाबाबुको काख, गाउँलेहरुको माया, साथीभाइहरुको साथ, तनावरहित सुखी जीवन, योग्यताअनुसारको काम, आफ्नोपन र आफ्ना जन सबै थिए देशमा। आफ्नाहरु सबै छाडेर फेरि कुन भविष्य खोज्न पसेँ अमेरिका? अमेरिका आउने भनेपछि किन हिमाल जस्तै भएर अग्लियो यो मन? कसरी चटक्कै बिर्सियो आफन्तहरुको माया?

तर यतिका वर्ष बस्दा पनि किन आफ्नो बन्न सकेको छैन न्युयोर्क? आफ्नै घर भैसक्दा पनि किन आफ्नो जस्तो लाग्दैन यो माटो? किन उनको अनुहारलाई आफ्नो ठान्दैन अमेरिका? उनको मनमा प्रश्नहरुको बाढी उर्लियो।

उनले न्युयोर्कमा जति दु:ख जीवनमा कहिल्यै गरेकी थिइनन्। न्युयोर्कमा जस्तो त्रास कतै भोगेकी थिइनन्। न्युयोर्कमा जति एक्लोपन कहिल्यै महशुस गरेकी थिइनन्। आज मध्यरातको यो सुनसानमा अचानक आमाबाबुको काखको न्यानोले उनलाई बोलाएझैँ लाग्यो। हजुरआमाको बुढ्यौलीले खोजेझैँ लाग्यो।

पोख्रेली दाजुको गोमा भाउजुको नासो रुमालको पोकोले तानेझैँ लाग्यो। न्युयोर्कमा भोगेका दिनहरु सपाट आँखा अगाडि आएर नाँच्न थाले। कहिले छालाको रंगले हेपिएको क्षण, कहिले आप्रवासीको नाममा हेपिएको क्षण, कहिले नागरिकताको सवालमा हेपिएको क्षण सबै एकएक गरेर घुम्न थाल्यो मस्तिष्कमा। आफ्नै विगतले विस्तारै पोल्दै गयो। यी सबै पीडाको मल्हम आफ्नै देशमा छुटेझैँ प्रतित हुन थाल्यो।

उनको मनमा ठूलो अन्तर्द्वन्द मच्चियो। धेरैबेरको द्वन्दपछि उनले मन दह्रो पारिन्।  कोठाको बत्ति बालिन्। टेबलमा रहेको ल्यापटप अन गरी न्युयोर्क रियल स्टेटको वेभसाईट खोलिन्। अघिल्लो महिना सेन्ट्रल पार्कबाट खिंचेको आफ्नो अपार्टमेन्टको नयाँ फोटो अपलोड गरिन् र लेखिदिइन्- 'अ ब्युटिफुल अपार्टमेन्ट अन सेल।'

लामो यात्रा पछि एअरपोर्टमा ल्यान्ड गरेको यात्री जस्तै खुशीले चंगा भयो उनको मन। ल्यापटप बन्द गरी छातीमा च्यापेर मस्त निदाइन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ११:४२
सिफारिस
चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो
चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो
सामाजिक सञ्जाल प्रयोगमा प्रशिक्षकको असन्तुष्टि पछि तीन खेलाडीको प्रतिक्रिया यस्तो छ
सामाजिक सञ्जाल प्रयोगमा प्रशिक्षकको असन्तुष्टि पछि तीन खेलाडीको प्रतिक्रिया यस्तो छ
तीन खेल हारेपछि रोहितले औंल्याएको सुधार गर्नुपर्ने क्षेत्र
तीन खेल हारेपछि रोहितले औंल्याएको सुधार गर्नुपर्ने क्षेत्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिजको भने सुपर-८ को यात्रा
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिजको भने सुपर-८ को यात्रा
नेपालका लागि १२ वर्षपछि विश्वकपमा अर्धशतक प्रहार गरेका दीपेन्द्र
नेपालका लागि १२ वर्षपछि विश्वकपमा अर्धशतक प्रहार गरेका दीपेन्द्र
टी-२० विश्वकपमा सोमपालले रचे इतिहास
टी-२० विश्वकपमा सोमपालले रचे इतिहास
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

अनिँदा रातहरू
बिर्सन सक्दिनँ १२ वर्ष अगाडिको त्यो दिन!
कहाँ होला त्यो प्रेमी?
यो प्रेमको उपहार
प्रेमलाई हतार होइन, अर्थ दिऔँ
प्रिय अपरिचित!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP