कविता 
उड्दै गएका ती
धुवाँका रफ्तारसँग
कहिले काहीँ 
भलाकुसारी गर्न मन लाग्छ
अनि, म 
त्यो चौतारामा
बुढो भएको पिपलको 
बोट मुनि हातको लौरो छेवैमा राखी 
लामो श्वास फेर्दै
केही फेर बिलिन हुन पुग्छु 
अनि तिमीलाई सम्झन्छु!!
सोच्छु! 
उर्वशी! अनि हेर्छु ती दोषी चस्माबाट 
म कतै भेट्दिनँ
उर्गेनको घोडा अनि
ती पारिजातहरु!
हिजो आज तिमी 
ती धुवाँमा बिलिन भई
महाकवि सँगै छितिजमा
हराएकी छौ! त, 
म यो दोषी सहरहरुमा
निष्पट अन्धकारमा
कहिलेविपीका नजरहरुबाट त
कहिले सिद्धिचरण श्रेष्ठका ती शब्दका 
अन्तरंगमा तिमीलाई भेट्न
यी पिपलका चौतारातिर बराल्ली हिंड्दछु! 
जहाँ तिमिसँगै म अनि यो सिंगाे
समाज हिजो जलेको थियो!!
हेर्छु यी भीडहरुमा
अनि खोजी हिंड्छु ती ठमेलका
गल्ली त कहिले
ती न्युरोडका पत्रिका पसलहरुमा!
भेट्छु त फगत एउटा
खोस्टाे! जो 
कसैले ती राता टाटाहरु संगीन 
बनाई रद्दिको टोकरीमा
मिल्काई फाले थ्यो!
अनि सोधि रहेथ्यो,
ती भीडहरुलाई!!
ती क्रन्दन अनि पीडाले 
जलेको त्यो तिम्रो शरीर !
कति विछिप्त होला है !
सम्झन्छु म 
केही पल अघि
तिमी ती शुक्रपथका 
रोडमा हिंड्दा 
तिम्रो वरपर रोकिएको त्यो 
समाज! अहो!
कस्तो सन्जोग लाग्थ्यो मलाई,
सम्झन्थेँ!
आखिरकार उर्वशी पनि तिमी जस्तै थिन होला हगि!
जसै तिमिलाई कसैले ती 
शब्दका गहिराईमा सजाएथ्यो!
अनि ती भावनाका लहरहरुमा
कतै पर दूर दूरसम्म सपनी देखाएथ्यो!!!
भीडमा हराएको यो समाज
अनि!
भीडमै रमेको यो समाज!
फरक खोज्न खोज्छु,
अहँ सक्दिनँ अनि
यो लौरो बोकी 
उठ्न खोज्छु!
फेरि पनि डाँडापारिको 
जुन झैँ ती
आशाका दियोहरु छितिजमा 
जलेको देख्छु! अनि 
ती तिम्रा शरीरबाट 
निस्किएका धुवाँका
अन्धकारसँग
म मेरो समाज जलेको देख्छु!