अचानक ब्युझिएँ।
धेरै वर्षअघि बित्नु भएकी मेरी प्यारी मावली हजुरआमालाई देखेको सपनाले मनमा सन्नाटा नै ल्याईदियो। खोइ किन देखे हुँला! त्यस्तै रातको दुई बजेको थियो। सपनामा मेरी आबै उस्तै हुनुहुन्थियो। उही निलो चोलो। म आफै रंग छुट्टाउन सक्दिनँ र पनि देखिरहेको त्यही गुन्यो अनि उस्तै अनुहार।
आबै एकदम राम्री हुनुहुन्थ्यो। साँच्ची एकदम राम्री। मुजा परेको अनुहार।
म उहाँको जेठो नाति। मायाले मलाई ठाकुर भन्नुहुन्थ्यो। संगीसँगै घरमाथि जंगलमा घाँस काट्दै गर्दा मेरो घरतिर बन्दुक पड्कियो। खासै मतलब गर्नु भएन। घर फर्केपछि अब आफू पनि हजुरआमा भएको थाहा पाउनु भएछ। आबै मलाई औधी माया गर्नु हुन्थ्यो। हुन त उहाँ कहिल्यै कोहीसँग रिसाउनु हुन्थेन।
म आबैसँग उहाँको दिदीको घर गईरहन्थे। उताकी दिदी हजुरआमा पनि मेरी आबै जस्तै राम्री र उस्तै अनुहारको हुनुहुन्थ्यो। मलाई औधि माया गर्नु हुन्थ्यो। उताका हजुरआमाका नाति-नातिना गोबिन्द दाइ, शान्ति दिदी पनि मलाई माया गर्दथे। उनीहरुका घरका मीठा सुन्तला चाहे जति टिप, खाउ, कसैको वास्ता हुँदैन थियो।
बेसीका हामीलाई सुन्तलाको बोट देख्नु, लटरम्म सुन्तला टिपेर खानु, बालसुलभ मन त्यसै रमाउथ्यो। म दुई पटक आबैसँग आमाको मामाघर पुगेको छु। आबैका कान्छा दाइ, शालिकराम बाजे। त्यहाँका सबैभन्दा धनिमानी मान्छे। बाजेको पनि आबैहरु जस्तै दुरुस्त अनुहार। ठ्याक्कै तर बाजे धेरै अग्लो र खाईलाग्दो हुनुहुन्थ्यो।
त्यहाँ मेरा उमेर समान साना केटाकेटी कोही थिएनन्। हजुरबा भेडा च्यांग्राको रौँ कातेर चर्खामा धागो बनाउनु हुन्थ्यो। फनफनी घुम्ने चर्खा मेरा लागि नौलो चिज थियो। हजुरबाबाट एक थान चर्खा उपहार पाउने लालसा हुन्थ्यो ममा, लेखो लगाउँदै गर्दा।
आबै तिरका तेह्र नाति-नातिना र आठ पनाति-पनातिना भएछौँ हामी पनि। झिना-मसिना देश छाडेर जापान, अमेरिका, अस्ट्रेलिया, नर्वे, पोर्चुगलका कुना कप्चेरा छाप मारिसकेका छौँ। त्यतिबेला मेरा हजुरबा कान्छा मुखियाको रवाफिलो परम्परा धान्ने छोरोको निमित्त आबैपछि आउने जाने गरेका अरु हजुरआमाहरुको विस्मृत ज्ञान थियो र पनि उहाँलाई कसैप्रति कुनै रिस राग, वैमनस्यता केही थिएन।
१४ वर्षमै कन्यादान गरिनु भएकी मेरी आमा अनि अरु दुई सानिमाहरु सरकारी सेवा मै हुनुहुन्छ। उहाँ हामीलाई देखेर नै रमाउनु भयो। मेरा तिरको पनाति दिग्विजय पनि आबैको काखमा हुर्कियो। उसलाई सानो ठाकुर भन्नुहुन्थ्यो। आबैको हामीप्रतिको मायालाई वर्णन गर्ने कुनै शब्द नै छैन मसँग।
किन-किन बिहानै आमासँग कुरा गरौँ लाग्यो। आबैलाई मैले किन सपनामा देखेँ हुँला? आमालाई फोन गरेँ, स्विच अफ रहेछ। फेरि पिताजीको फोन डायल गरेको त संयोगवश आमाले नै फोन उठाउनु भयो।
मैले सोधेँ- आमा, मैले आबैलाई सपनामा देखेँ। किन होला?
आमाले सोध्नु भयो, ‘कस्ती हुनुहुन्थ्यो। के गर्दै हुनुहुन्थ्यो?’
‘दलानमा नांग्लोभरि चना केलाउँदै हुनुहुन्थ्यो। उस्तै हुनुहुन्थ्यो। निलो चोलोमा र उहीँ गुन्यू मै हुनुहुन्थ्यो। उस्तै राम्री हुनुहुन्थ्यो आबै त।’
यति सुन्ने बित्तिकै आमा फोन राख्न खोज्दै हुनुहुन्थ्यो। मैले बुझिहालेँ, पक्कै उहाँलाई गाह्रो भो। उहाँ मौन हुनु भयो।
फेरि मैले सोधेँ ‘अनि आमा, अहिले त सोह्र श्राद्ध चलिरा'छ। उहाँको तिथि कहिले होला?’
‘थाहा छैन’ आमाले भन्नु भयो।
‘कहिले बित्नु भएको थियो नि?’
‘२०६८ चैत ५ गते।’
तुरुन्त हाम्रो पात्रो हेरेँ, द्वादशी रहेछ। अनि आज त एकादशी हो।
आमाले भन्नु भयो, ‘खोइ, कसलाई खोजेर श्राद्ध गराउँ र?’
‘पर्दैन, अगरबत्ती जलाईदिनु होला।’
‘दिनहुँ जलाउँछु बत्ती त।’
‘होइन के, आबैको नाममा भोलि।’
हार्दिक श्रद्धान्जली मेरी आबै।
तपाईलाई फेरि फेरि पनि उस्तै देख्न पाउँ।