महासय!
आउनुहोस्, देखिनुहोस्
म तपाईंलाई
मन नपरे पनि भेटम्, बोलम्
धमिलो मुख लगाएर पनि
सेतो दूधको चिया खाउँला
बरु मै स्पोन्सर गरुँला
बजार-बजार लुकेर
कति दिन चल्छ र
इमान बेच्ने तपाईंको
अद्भुत खुबी मैले मात्रै हैन
सबैले जानी सके।
मेरो आत्मकथाको
एक जबरजस्त पात्र तपाईं!
कहलिएको समाजसेवी
इमानदारिता गुमाइसकेपछि
वचनको पक्का नभएपछि
अब केको लाज बाबा!
आउनुहोस् भेटम्
कुरौटे चिया पसलमा भेटेर
कुम जोडेर
लाज पातलो बनाम्
दोष अरूलाई खनाम्
यो देश खत्तम भएको
नेताले बिगारेको भाषण छाटम्
दुई/चार जनाको कुरा काटम्
अनि आफ्नो आफ्नो बाटो छोटाम्।