उसको मनोदशा ठिक छैन अचेल
सुत्ने, खाने र काम गर्ने समयको तालमेल छैन
छटपटी छ जस्तो खडेरीमा भ्यागुताको हुन्छ
दुःख गर्न कत्ति मन मान्दैन
पिरको भकारी बिस्कुन सुकाएझैँ सुकाउने ठाउँ छैन!
मुहारको चमक फुङ्ग उडेको छ
कान्तिमय त सञ्जाल तिर मात्रै हो
शरीरको आयतन घटेर वस्त्र झोलिएका छन्
रङ, ट्याटु र रूपको लयमा बग्ने-
उसको फेशन बर्तमानको एउटा कविता हो;
ओठ नखोली नै आभाको कथा भन्छन्!
फुर्सदमा एकोहोरो भएर टोलाउँछ-
नहोस् पनि किन?
मयूरले पङ्ख फिँजाएर नाचेको नहेरेको
बनको शून्यतामा चराका गीत नसुनेको
नदीको मधुर सुसेली अश्रुत भएको
पुष्पित लतामा ओसका मोती ननियालेको
नर्तकीको नृत्यजस्तै छाल अनवलोकित रहेको
र,
सूर्योदयमा हिमाल मुस्कुराएको नदेखेको
धेरै भयो…
सफलता सिँढी भित्रका कथा देख्दैन ऊ
एआईका सृजनामा प्राण देख्छ;
मुस्कान पोस्टमा, मनमा रोष छ
दृष्टिमा दोष छ!
स्क्रिनको प्रकाशमा हराउँछ;
पछ्याएर पनि सहारा दिन नसक्ने
धेरै अनुयायी गन्दछ मुहारिकामा
र,
शयनकक्षमा एक्लै बगरको ठुटोझैँ पल्टन्छ!
बरु ऊ एन्टोन चेखभको इयोना पोटापोभले जसरी
पिर बिसाउने जीव खोजोस्
महाभारतमा यक्ष–युधिष्ठिर संवादको सुनोस्
बन्जर पहरामा गुराँसको फूल देखोस्
सञ्जालभित्रको भिडको मरुभूमिमा
उसका श्वासहरू बिस्तारै नओइलाउन्
र,
नबनोस् भोली सस्तो मृत्युको
सस्तो खबर अतिशय अखबारहरूमा।
ऊ सञ्जालभित्रको असामाजिक प्रतिनिधि जीवन हो
ओइलाइ रहेको धूपको कर्कलो हो
नेटवर्क नटिपेर थन्किएको राउटर हो
र,
बन्जरमा डुब्न लागेको जहाज बनेको छ
एउटा आशा लाग्दो रूपक नमिलेको अस्तित्व
सञ्जालको निर्जनतामा मेक्समको!