साउनले चारैतिर छपक्कै छाइसकेको थियो। वर्षौँअघि हातमा लागेको मेहेन्दीको रङ उडिसकेको थियो, तर प्रितीको मनमा गढेर बसेको त्यो एक रात, त्यो एक क्षण, अझै उस्तै ताजै थियो। बाहिरको संसार धेरै अगाडि बढिसकेको थियो।
अफिसका फाइलहरू फेरिएका थिए, बाटोका फूलहरू ओइलाइसकेका थिए, आकाशले हिजोभन्दा फरक रङ ओढिसकेको थियो। तर प्रिती? उनी अझै त्यही रातमा अडिएकी थिइन्। वर्षौँअघि श्रीमानको फोनको स्क्रिनमा देखिएको त्यो एउटा तस्बिरले उनको संसारलाई मानौँ ६ रेक्टरको भूकम्पले हल्लाएझैँ धुजाधुजा बनाइदिएको थियो। जसरी मेहेन्दी रात पर्नासाथ गाढा हुँदै जान्छ, त्यसैगरी त्यो तस्बिरको असर पनि समयसँगै झन् गाढा र पीडादायी बन्दै गयो।
साउनको अन्तिम सोमबार देखिएको त्यो तस्बिरले प्रितीको जीवन छियाछिया बनायो। तर उनले हरेस खाइनन्। समाज र आफ्ना सन्तानलाई बाबुविहीन परिचय दिन नपरोस् भन्ने दृढ संकल्पका साथ उनी निरन्तर अघि बढिरहिन्। उनले आफ्नो छोरा र आफ्नै भविष्यका लागि केही गर्नुपर्छ भन्ने अठोट गरिन् र विश्वास टुटेपछि सुरु भएको संघर्षयात्रामा दृढ पाइला चालिन्।
त्यो दिनपछि नितेससँग सयौँ पटक आँखा जुधाएर धेरै कुरा सोध्ने मन थियो। उनका मनमा ‘किन?’ भन्ने एउटै प्रश्न बारम्बार उठिरहन्थ्यो। उनले सत्य बुझ्ने प्रयास नगरेकी पनि होइनन्। तर नितेससँग कुनै स्पष्ट जवाफ थिएन। कहिले गल्ती स्विकार्थे, कहिले बहाना बनाउँथे, कहिले उल्टै प्रितीलाई नै दोष दिन्थे।
‘कामको तनाव थियो’, ‘त्यो केही होइन’, ‘तिमीले धेरै सोच्यौ’ यस्ता शब्दहरूले प्रितीका घाउ झन् गहिरा बनाउँदै गए। उनी चाहन्थिन्, नितेसले आफ्नो गल्ती महसुस गरून् र आफैँ भनुन्, ‘मैले गल्ती गरेँ। अब यस्तो दोहोरिने छैन। हाम्रो सम्बन्ध छोराका लागि पनि जोगाऔँ।’
तर जीवन सधैँ सोचेजस्तो कहाँ हुन्छ र? उनको यो चाहना कल्पनामै सीमित रह्यो। बिस्तारै जीवनले अर्कै मोड लियो। विश्वास एक पटक फुटेपछि फेरि जोड्न सजिलो हुँदैन। एउटै घरमा बस्दा पनि उनीहरूको सम्बन्ध बिस्तारै अपरिचित मानिसहरूको जस्तो बन्दै गयो। एउटै छानामुनि बस्न तर भावनात्मक र शारीरिक रूपमा एकअर्काबाट टाढिँदै गयो।
केही वर्षपछि प्रितीमाथि अर्को ठुलो बज्रपात पर्यो। पहिले बुबाको निधन भयो। त्यो पीडा बिर्सन नपाउँदै केही महिनापछि आमाले पनि संसार छोड्नुभयो। अब उनका दुःख सुनिदिने आमा हुनुहुन्नथ्यो, ढाडस दिने बुबा हुनुहुन्नथ्यो। मनका कुरा पोख्ने दिदीबहिनी पनि थिएनन्। घरमा श्रीमान् भए पनि साथ थिएन। मन बुझ्ने कोही थिएन।
रातभरि निद्रा लाग्दैनथ्यो। सानो कुरामा पनि आँसु आइहाल्थ्यो। सामान्य काममा समेत ध्यान जान छोड्यो। खाना पकाउँदा भाँडा डढेर कालै हुन्थ्यो, पानी थापेर बिर्सिन्थिन् र घण्टौँ पानी खेर जान्थ्यो। यस्ता घटना दिनहुँ दोहोरिन थाले। बिस्तारै जीवनप्रतिको रुचि नै हराउँदै गयो।
एक समय उनी गम्भीर रूपमा बिरामी परिन्। साथीको सहयोगमा स्वास्थ्य परीक्षण गराउन राम्रो अस्पताल पुगिन्। डाक्टरले भने, ‘आफूलाई पनि माया गर्न सिक्नुपर्छ।’
त्यहीँ उनले आफू डिप्रेसनको सिकार भएको थाहा पाइन्। औषधि लिएर घर फर्किँदा पहिलो पटक उनले आफ्नै जीवन कति थाकेको रहेछ भन्ने महसुस गरिन्। उनले आफ्नो वरिपरि टुलुटुलु हेर्दै हिँड्ने सानो छोरोलाई सम्झिन्। त्यही निर्दोष अनुहारले उनलाई फेरि उठ्ने शक्ति दियो।
उनले आफ्नो आत्मबललाई फेरि मजबुत बनाइन्। यही कठिन समयमा धेरै सम्बन्धहरू टुटे। तर भगवान्ले सबै ढोका कहिल्यै बन्द गर्नुहुन्न रहेछ। उनका केही असल साथीहरूले यही बेला उनको हात समाते। कसैले चिया पिउन बोलाए। कसैले मनका कुरा सुनिदिए। कसैले भने, ‘प्रिती, तिमी अरूका लागि धेरै बाँच्यौ। अब आफ्ना लागि पनि बाँच।’
साथीहरूको यही एउटा वाक्यले उनको मनभित्र फेरि आशाको सानो दियो बाल्यो। उनले बिस्तारै आफूलाई सम्हाल्न थालिन्। बिहान हिँड्ने बानी बसालिन्। साथीहरूसँग योग र ध्यान गर्न थालिन्। दिउँसो नियमित कार्यालय जान थालिन्। फुर्सदमा किताब पढ्न, प्रकृतिमा घुम्न र नयाँ कुरा सिक्न थालिन्। उनले आफूलाई बिस्तारै परिवर्तन गर्न सफल भइन्। धेरै वर्षदेखि मनभित्र दबाएर राखेको एउटा सपना फेरि ब्युँझियो, लोक सेवा आयोग।
उमेर बितिसकेको थियो। जिम्मेवारीहरू झन् बढेका थिए। तर उनले हार मानिनन्। दिनभरि कार्यालय, साँझ घरको काम अनि राति सबै सुतेपछि पढाइ। कति पटक किताब पढ्दापढ्दै निदाइन्। कति पटक आँसु किताबमै झरे। तर यस पटक उनी कसैका लागि होइन, आफ्नै आत्मसम्मानका लागि पढिरहेकी थिइन्।
वर्षौँको मेहनतपछि नतिजा आयो। प्रिती नेपाल सरकारको अधिकृत पदमा नाम निकाल्न सफल भइन्। नतिजा हेर्दा उनका हात काँपिरहेका थिए। आँखा रसाए। उनले मनमनै दिवंगत बुबा–आमालाई सम्झेर भनिन्, ‘आज तपाईंहरू हुनुहुन्थ्यो भने कति खुसी हुनुहुन्थ्यो होला।’
उनले मनदेखि आफ्ना आमा–बुबाप्रति कृतज्ञता प्रकट गरिन्। तर उता नितेसमा भने कुनै परिवर्तन आएन। घरको जिम्मेवारीदेखि छोराको पढाइसम्म सबै भार प्रितीकै काँधमा रह्यो। छोराले सानैदेखि आमाको संघर्ष देखेको थियो। उसले कहिल्यै आमालाई दुःख नदिने प्रण गरेको थियो। मेहनत गरेर उसले एसइईमा उत्कृष्ट जिपिए ल्यायो। राम्रो कलेजमा भर्ना भयो। पछि छात्रवृत्तिमा विदेश पढ्न जाने अवसर पनि पायो।
छोरा विमान चढ्ने दिन प्रितीका आँखा फेरि भरिए। तर यस पटक ती आँसु पीडाका होइन, गर्वका थिए।
समय फेरिँदै गयो। प्रितीले आफ्नै मेहनतले अर्को घर बनाइन्। नितेसमा कुनै परिवर्तन नदेखेपछि उनले केही नभनी अलग्गै बस्न थालिन्। कामका सिलसिलामा कहिले नेपाल, कहिले विदेश जान थालिन्। मानिसहरूले उनलाई सफल अधिकृतका रूपमा चिन्न थाले। तर उनले कहिल्यै आफ्नो संघर्षको घमन्ड गरिनन्।
उनको अनुहारमा पहिलेभन्दा धेरै आत्मविश्वास थियो तर मनमा अझै पनि नम्रता थियो। धेरै वर्षपछि एक साँझ अफिसबाट फर्कँदै उनी कोटेश्वरमा तरकारी किनेर घर जाँदै थिइन्। सधैँझैँ सडकमा लामो जाम थियो। गाडी बिस्तारै अघि बढिरहेको थियो। अचानक उनको नजर सडक किनारमा उभिएको एउटा मानिसमा पुग्यो।
दारी फुलेको। कपाल सेताम्मे। अनुहार चाउरीले भरिएको। जीउ निकै दुब्लो। त्यो मानिस अरू कोही होइन, नितेस थिए। प्रितीले गाडी रोकिन्। नितेसले पनि उनलाई चिने। दुवै केही क्षण एकअर्कालाई मात्र हेरिरहे। धेरै वर्षपछि उनीहरू पहिलो पटक यसरी आमनेसामने भएका थिए।
नितेसका आँखाभरि पश्चात्ताप थियो। उनी बिस्तारै प्रितीनजिक आए। ‘प्रिती…’ यति मात्र भन्न सके। बाँकी शब्द घाँटीमै अड्किए।
केही बेरपछि काँपेको स्वरमा भने, ‘मैले धेरै ठुलो गल्ती गरेँ। त्यो बेला तिम्रो माया बुझिनँ। तिमी हुँदा परिवारको मूल्य थाहा भएन। आज सबै गुमाएँ। छोरा टाढा छ। तिमी पनि आफ्नै संसारमा छौ। घर छ, पैसा छ तर घरभित्र हाँसो छैन। तिमी बिनाको एक्लोपन कति पीडादायी हुँदो रहेछ, अहिले थाहा पाएँ।यदि सक्छौ भने घर फर्क। बाँकी जीवन मिलेर बिताऔँ।’
प्रिती शान्त भएर सुनिरहेकी थिइन्।
उनले बिस्तारै भनिन्, ‘नितेस, मैले तिमीलाई धेरै माया गरेकी थिएँ। भगवान् मानेर व्रत बसेँ। आफ्ना रहर त्यागेँ। आमा–बुबाको मृत्यु हुँदा पनि तिम्रो साथ खोजेँ। छोरा हुर्काउँदा पनि तिमीलाई कुर्दै बसेँ। तर त्यो बेला तिमीले एउटै छानामुनि भए पनि कुनै दिन मेरो हात समातेनौ। जीवनमा केही सम्बन्ध समयमै जोगाउनुपर्छ। धेरै ढिलो भएपछि पश्चात्तापले पनि सम्बन्ध फर्काउन सक्दैन।’
नितेस टाउको झुकाएर रोइरहेका थिए। प्रिती फेरि बोलिन्, ‘म तिमीलाई घृणा गर्दिनँ। माफ पनि गरिसकेँ। किनकि मनमा रिस बोकेर बाँच्न सकिँदैन। तिमीले मलाई एउटा अमूल्य उपहार दिएका छौ। हाम्रो छोरा। त्यसका लागि म सधैँ कृतज्ञ छु। तर म फेरि त्यही जीवनमा फर्किन सक्दिनँ। मैले धेरै आँसु बगाएर यो आत्मसम्मान कमाएकी हुँ। अब यसलाई गुमाउन चाहन्नँ। अब मसँग तिमीप्रति रिस छैन, तर पहिलेजस्तो भरोसा पनि छैन।’
केही क्षण दुवै मौन रहे।
जाम खुल्न थाल्यो। प्रिती गाडीमा बसिन्। गाडी अघि बढ्यो। पछाडिको सिसाबाट उनले एक पटक फेरि नितेसलाई हेरिन्।
नितेस त्यहीँ उभिएका थिए। सायद पहिलो पटक उनले आफ्नो गल्तीको वास्तविक मूल्य बुझेका थिए। प्रितीका आँखामा पनि आँसु थिए। तर ती आँसु हारका थिएनन्। ती आँसु संघर्ष जितेकी एउटी महिलाको थियो।
घर पुगेर उनले हातमुख धोइन्। तर आज मन असाध्यै बेचैन थियो। आज पनि साउनको सोमबार थियो। पहिलेझैँ उनी व्रत बसेकी थिइन, निकै फरक तरिकाले, अब उनी शिवजीसँग श्रीमान्को दीर्घायुको कामना गर्दिन थिइन्। बरु आफ्नै आत्मबलका लागि प्रार्थना गर्थिन्।
‘हे शिव, अब मलाई आँसुमा होइन, उज्यालोमा हिँड्न सक्ने शक्ति दिनुहोस्। अबको मेहेन्दी म आफ्नै लागि लगाउँछु आफूमा फर्किन, आफूलाई सम्झिन।’
त्यस दिन उनले एउटा सत्य बुझिन। साँचो व्रत भनेको भगवान्लाई खुसी पार्नु मात्र होइन रहेछ। आफूलाई नहराई, आफ्नो सम्मान जोगाएर, अरूलाई पनि सम्मान गर्दै बाँच्नु नै साँचो व्रत रहेछ। साउनको मेहेन्दी हातबाट वर्षौँअघि नै मेटिइसकेको थियो। तर संघर्षले कोरेको आत्मविश्वासको रङ भने अब कहिल्यै मेटिने थिएन।